प्रेम गुरुङ दुबो( लेम्मे लाम्छाने, तमु ) को आफ्नै शब्दमा संक्षिप्त यात्रा संस्मरण

अधिबक्ता प्रेम गुरुङ दुबो( लेम्मे लाम्छाने, तमु ) को आफ्नै शब्दमा संक्षिप्त यात्रा संस्मरण :- 

मेरो जन्म बि. सं. २००७ भाद्र महिनामा पुर्बि नेपालको भोजपुर, छिनामखु, काङ्ग काङ्ग गाऊँमा दोश्रो बिश्व युद्धका योद्धा श्री मणि प्रसाद गुरुङ( No: 3113 Naik, 1st Bat. 7 GR, 20-08-1940 to 29-06-1947.) र मेरो आदर्श शाहसी आमा धर्म लक्ष्मि( जोगमाया ) गुरुङको जेष्ठ पुत्रकोरुपमा भएको थियो | मेरो मावली घोताने तमु गुरुङहरु हुनुहुन्छ र पुर्ब आउने हाम्रा पहिलो पुर्खा चम्पसिंहको मावाली पनि घोताने गुरुङहरु नै भएको भनेर हाम्रो बाबु बाजेहरुले भन्ने गर्नु हुन्थ्यो |

तमुवान निवासी मेरो पुर्खा प्रताप गुरुङले बि. सं. १८४९ को नेपाल चीन युद्धमा बीरगति प्राप्त गर्नु भएको थियो भने उनका छोरा चम्पसिंह गुरुङलाई बि. सं. १८६२ मा तत्कालिन विजयपुर – चैनपुर प्रशासनिक क्षत्रका बसोबास, व्यापार र सिमा सुरक्षा लगायतका सम्पूर्ण राजकिय काम हेर्ने गरि तत्कालिन श्री ५ बाट डिट्ठा पदमा नियुक्ति गरि पुर्ब तर्फ पठाईएको थियो र उनैका जेठो छोरा जहरसिंह गुरुङ भेडा चरण र बसोबास लायकका ठाउँ मयुङ्ग डाडा र काङ्ग काङ्गलाई उपयुक्त देखि चैनपुर सेकायोबाट पश्चिम लागि उक्त स्थानमा बसोबास गर्न आई पुग्नु भएको र उहाका दुई भाई छोराहरु शंकर र चन्द्रबीर मध्य जेठो शंकरको तर्फबाट मोतिराज, केशरमान, मणिप्रसाद हुदै बर्तमानमा म प्रेम गुरुङ दुबो हाल युकेमा छु र हामि चम्पसिंहका सन्तानहरु प्राय विश्वका सबै मुलुकहरुमा फैलिदै मानव सभ्यतालाई अघि बढाउन प्रयासरत छौ |

मेरो पुर्खा प्रताप गुरुङ भन्दा अघिका सम्पूर्ण हामि तमु गुरुङहरुको पुर्खाहरु लिच्छिबिहरुबाट हार खाई काठमाणडौ उपत्यकाबाट बाहिरिए पछि कुन कुन ठाउँमा बसोबास गर्दै के कसरि अघि बढे र पुर्ब लागेका चम्पसिंहका मावालीहरु बारे र कति जना काका बाबु, दाजु भाई दिदि बहिनि र छोरा छोरीहरु थिए भन्ने बारे अध्यन अनुसन्धान भईरहेकोछ |

मेरो बाल्यकाल अत्यन्तै रोमान्चक, संघर्षपुर्ण रमाइलो र अतिनै शिक्षाप्रद र अन्यौलताका मार्गहरु भएर अघि बढेको थियो |

मेरो औपचारिक शिक्षा र तालिमहरु :- 

मैले त्रिभुवन धर्मोदय मिडल स्कुल, छिनामखु, देवीथानबाट सात कक्षा पुरा गरि भोजपुर सदर मुकाम गई बि. सं. २०२४ मा बिद्धोदय हाईस्कुल, भोजपुरबाट एस एल सि, आई ए प्राईबेट र सरस्वती रात्रि कलेज, काठमाणडौबाट आई कम र महेन्द्र मोरङ कलेज, बिराटनगरबाट अर्थशास्त्र र राजनीति शास्त्रमा बि ए अनि एम ए, एल एल बि, डिप्लोमा लेवल अफ ल, बि कम, प्राईबेटबाट नेपालमा हुदै गरेको थिए भने युके आएपछि डिप्लोमा ईन ईमिग्रेसन एण्ड न्यसनालिटी ल, सर्टिफिकेट ईन ईमिग्रेसन अपिल्स एण्ड प्राक्टिस मेरिटसहित पुरागरि युकेको ईमिग्रेसन नियामक निकाय OISC को परिक्षा पास गरि रजिस्टर्ड ईमिग्रेसन एडभाईजर भई काम गर्दै थुप्रै CPD कोर्षहरु पुरा गरेको थिए | तर बेलायतको सोलिसिटर लाईसेन्स लिन दिनु पर्ने Q LTT परिक्षा भने उमेर र स्वास्थ्यका कारण पुरा गर्न सकिन |

हंगकंगमा रहदा VTC बाट बिभिन्न वितिय प्रोडक्टहरुको कारोवार गर्न तालिम र परिक्षाहरु पुरा गरि HKSFC, HKFI, MPF जस्ता अथरिटीहरु मार्फत ईजाजत प्राप्त गरि हंगकंगका AXA, CMG Asia, ING जस्ता बहुरास्ट्रिय वितिय संस्थाहरुको प्रबन्धकीय पदहरुमा रहि बिभिन्न Award हरु प्राप्त गरि उच्च स्तरिय वितिय गोष्ठि र तालिमहरुमा भाग लिने र विश्वका धेरै देशहरु अवलोकण गर्ने शुअवसर प्राप्त गरेको थिए भने नेपालमा पनि बि. सं. २०२८ मा सहकारी प्रशिक्षण केन्द्रबाट ऋण निरिक्षण र बित्त ब्यबस्थापन तालिम लिनकासाथै जनप्रशासन र विकास योजना सम्बन्धि बिभिन्न तालिम र गोष्ठीहरुमा प्रशिक्षार्थि र प्रशिक्षक भई भाग लिएको थिए |

नेपालमा मेरो पदिय अनुभवहरु – 

मैले बि. सं. २०२८ देखि करिब अढाई बर्ष जति भूमिसुधार बचत संस्थान र कृषि विकास बैंकमा काम गरे भने बि. सं. २०३२ देखि करिब साढे ६ बर्ष जति तत्कालिन निर्माण तथा यातायात मन्त्रालय इन्जिनिएरिङ्ग कर्मचारी प्रशासन महाशाखाको शाखा अधिकृत, निमित र का. मु. उपसचिवको हैसियतले र त्यसपछि स्थानिय विकास मन्त्रालयको क प्र शाखा , सामान्य प्रशासन मन्त्रिको निजि सचिव र मन्त्रिपरिषद  सचिवालय अन्तर्गत पूर्ब मन्त्रि मा. ध्यान बहादुर राई प्रमुख र मा. यादवसिंह रायमाझी उपप्रमुख रहनु भएको पश्चिमान्चल उच्च स्तरिय निरिक्षण टोलिको सदस्य भई पश्चिमान्चलका प्राय सबै जिल्लाहरु को अध्यन भ्रमण गर्ने अवशर पाएको थिए र त्यस पश्चात बि. सं. २०४१ फाल्गुण १७ गते देखि लागु हुने गरि राजिनामा दिएर कानुन ब्यबसायकासाथै समाज सेवा र राजनीति तर्फ सक्रिय भई बि. सं. २०५५ को अन्त्यतिर देखि मेरो सोच र देशको आबश्यकता अनुसार देशको लागि ठोस योगदान दिन नसकिने परिस्थिति देखि अध्यन भ्रमणको लागि विदेश तर्फ लागे |

समयानुसार समाज रुपान्तरण र देश बिकासमा मेरो प्रयास – 

नेपालमा प्रजातन्त्र घोषणा ( बि. सं. २००७ फाल्गुण ७ ) हुँदा म करिब ६ महिनाको थिए | म ४ महिनाको हुँदा केटा केटी र बुढा बुढिहरुलाई मेरो गाउँको ठुलो भिर मुनि जंगलमा लुकाएर प्रजातान्त्रिक आन्दोलनका पुर्बाञ्चल सुप्रिम कमाण्डर एबं मेरो मित मामा नारदमुणि थुलुङ्गको निर्देशनमा पुर्ब सैनिक मेरो पिताजी मणिप्रसाद गुरुङको नेतृत्वमा सारा कांगकांगे गुरुङहरु उठेर काठमाणडौबाट आएका राणाका फौजलाई मेरो गाउँको सिरान जुरि डाडामा भरुवा बन्दुक र खुकुरिले आक्रमण गरि केहिको हत्या र बाँकिलाई सरेन्डर गराई भोजपुर सदरमुकाम लगि बन्दि बनाएको कथा र बि. सं २०१५ सालको चुनाव र चुनाव प्रचार प्रसारको प्रत्यक्ष दृश्यका संस्मरणले मलाई बाल्यकाल देखिनै स्वाभिमान र स्वतन्त्रताको गहिरो प्रभाव र शिक्षा प्राप्त भएको थियो | तर लामो समय अशिक्षा अज्ञानता र संकिर्ण परम्परागत सोचमा हुर्किएको नेपाली समाजलाई अन्धबिश्वासबाट मुक्त गराई समय अनुसार अघि बढाउन र  परिवर्तन गर्न निकै गाह्रो र समय लाग्दो रहेछ भनेर म अहिले मात्र बुझ्दै छु |

साच्चै भन्ने हो भने बाल्यकालमा म र मेरा समकालिन दौत्यरि साथिहरु बिद्रोहि र मुर्ख स्वभावका थियौ | २०२५ साल तिर काठमाणडौ आए पछि त्यस ताकाका ठमेल, पकनाजोल, नयाबजार, लैनचौर क्षत्रमा दुख दिने गुण्डाहरु तह लगाएका थियौ | 

भत्काऊ भत्काऊ ति अमिल्दा ढिस्काहरु भनेर कविता लेखिन्थ्यो | बिद्धार्थी युनियन र बिभिन्न संघ संस्थाहरु मार्फत सिमा सुरक्षा र रास्ट्रिय अन्तरास्ट्रिय स्वतन्त्रताको लागि धर्ना जुलुस र किसान आन्दोलनहरुमा समेत सक्रिय भएर नेतृत्व लिदै भाग लिईन्थ्यो | पर्चा पम्प्लेट, पत्र पत्रिका प्रकाशन र कथा कविताहरु लेखिन्थ्यो, सुनाईन्थ्यो बिभिन्न गोष्ठीहरु गरिन्थ्यो | त्यस्तै गुरुङ भएका र लामो जहानिया शासनका निरंकुस पेलाई र शिक्षा दिक्षा कमिका कारण चेतनाको दृस्टिले पछाडि परिएका नाताले तमु अग्रजहरुलाई समेत समन्वय र अग्रसर गराउदै हामि समकालिन तमु युवाहरु मिलेर तमु धिँ नामक संस्था गठन गरि पिकनिकको बहाना बनाई काठमाणडौमा भएका तमु अग्रजहरु र हामि युवाहरुको जमघट गराई चिनापर्चि र बौद्धिक चिन्तन छलफलहरु गर्ने परम्परा बसाउने प्रयत्न गर्यौ र त्यसको सकारात्मक प्रतिफल पनि देखिएको थियो जसको कारण त्यस समयका तमु युवाहरु बिबिध क्षत्रमा एक लर्को निक्कै अघाडी आउन सफल भएको अहिले पनि देखिन्छ | 

हिज संघ संस्थाहरु खोल्दा र विचार छलफल गोष्ठीहरु गर्दा जेल जानु पर्थ्यो भने आज फुर्ति फार्ति र पद पोजिसन बार्गेन गर्न पाइन्छ | 

मेरो सक्रियता र प्रयास सधै के रह्यो भने प्राणिहरुमा मानव जीवनको जन्म पाउनु भनेको एकदमै अमुल्य र हामि सबै सबैको भाग्य र भविष्य निर्माण र निर्धारण गर्ने जिम्मेवारीयुक्त सुनौलो अवशर भएकाले हामिले अन्य प्राणिहरुले भन्दा फरक भूमिका निर्वाह गर्न सिक्ने सिकाउने र ज्ञान उत्पादन गर्दै हर क्षत्रमा नेतृत्वदायी भूमिका निभाउन सक्ने प्रतिभा भएका ब्यक्तित्वहरूलाई स्वत सहज ढंगले समाज बिकासको लागि अघि बढ्न सकिने सामाजिक संरचनायुक्त बाताबरण निर्माण गर्नलाई अध्यन चिन्तन मनन छलफल तर्क बितर्क र हरेक समस्याहरुलाई नया पाठ अध्यनको शुअवसरको रुपमा स्विकार्दै हामि र हाम्रो विश्वलाई सुन्दर शान्त सुरक्षित र रमाइलो बनाउने उपाय खोज्दै अघि बढ्नु पर्छ भन्ने शन्देस प्रबाह गर्नुनै रह्यो र यसैलाई बल पुर्याने हिसाबले बिबिध विधामा लेख रचनाहरु लेखियो, मेरो जो कोहिसँग बोल्ने बानि भएकोले सुन्नेहरूलाई झिचाटै लाग्ने गरि बोलियो र उतार्धमा आएर आज फेरि पुन लेखनमा समय दिने प्रयास गरिरहेकोछु | तर उमेर र समयको अन्तराल र आधुनिक युगको प्राबिधिक ज्ञानको कमिले गर्दा मनमा उर्लिएर आउने भावनाहरु सजिलै लिपिबद्ध गराउन म जस्ता समाज र गाउँबाट आएका बुढोहरुलाई निकै गाह्रो चाहि हुदोरहेछ |

मैले म जन्मिएको देशलाई हाल म बसिरहेको देश झैँ उन्नत बनाउन नसक्नुमा मुख्य त समय अनि  मेरो ज्ञान र चेतनामा बिर्को लाग्नु नै मुख्य कारक रहेछ भनेर अहिले मात्रै बुझ्दै छु र यो जन्मलाई एक बिद्धार्थिकै रुपमा स्विकारेर चित्त बुझाउदै विश्वका हरेक गतिविधिहरु हेर्दै, पढ्दै बुझ्दै घरि दुखि र घरि सुखि हुदै जीवन चक्रका यात्राको क्रममा उचित समयको पर्खाईका सुन्दर कल्पनाहरुमा डुबुल्की मार्दै भाग्यले प्राप्त सुन्दर मनका मेरो प्राणप्रिय धर्मपत्नि र भविष्यका आशा र साहारा छोरा र छोरीहरुसँग गफिदै हाँस्दै रमाउदै बिद्धार्थी जीवनको मस्तिमा रमाई रहेकोछु | 

एक्काईसौ शताब्दिको सुबिधा र हरेक गुरुजन, शुभचिन्तक, अग्रज, साथीभाई,दाजुभाई, दिदिबहिनि, नरनाता, ईस्ट मित्र, छरछिमेक, लगायत सम्पूर्ण मानव आफन्त जनहरुको न्यानो मायाको शन्देस र हौसेलाहरुले त झन एकदमै उर्जाशिल भएर नया नया सपना र कल्पनाहरुमा रमाउन पुगि रहेको हुन्छु |

मेरो प्रकाशित पुस्तकहरूमा बाद्यताले जिउदै मरेका आत्मा र लासहरु( कथा संग्रह- बि.सं.२०२७), आमाको अर्ति( कविता संग्रह- बि. सं. २०२८), नेपालको बर्तमान अबस्था र हाम्रो कर्तब्य( चुनावी घोषणा पत्र- बि. सं. २०४३), हामि र हाम्रो देशलाई चिनौ( चुनावी घोषणा पत्र- बि. सं. २०४३) र सम्पादित प्रकाशित पत्रपत्रिकाहरुमा जन चेतना सामयिक संकलन( बि. सं २०२८-२०३० बिराटनगरबाट ६ अंक सम्म), बिहानी मासिक- काठमाणडौ, विकास दर्पण- काठमाणडौ, भ्वाईस अफ माउण्ट एभरेस्ट- हंगकंग, नेपालमा प्रजातान्त्रिक समाजबाद एक अध्यन- म लगायत बिभिन्न विद्वानहरुको लेख संकलन | 

कोरोना, स्वास्थ्य  र परिस्थितिले साथ दिएमा लेखि सकिएको एक्काईसौ शताब्दिको नेपाली पुराण र लेख्न शुरु गरिएका गुरुङहरुको संक्षिप्त इतिहास एबं मेरो यात्रामा भेटिएका अबिस्मरणिय लोभ लाग्दा साथीहरुको सम्झनालाई समेटिएको यात्रा संस्मरण प्रकाशन गरि बजारमा ल्याउने र मेरो पुराना प्रकाशनहरुलाई पनि पुन मुद्रित गर्ने धोको छ|

बिदेश लागे पछि भने म सामाजिक संघ संस्थाहरुमा नया पुस्ताहरु आउनु पर्छ भन्ने सोचकासाथ पछाडि बाटै सकेको बौद्धिक आर्थिक र नैतिक सहयोग गर्ने गर्दै निस्क्रिय रहदैआएकोछु तापनि तमु धिँ युके, खोसोभो तमु समाज युके, भोजपुर समाज युके लगायतका शुभचिन्तक दाजुभाई दिदिबहिनिहरुले सल्लाहकारमा मनोनयन गर्नु भएको थियो तर स्वास्थ्य र बिबिध परिस्थितिका कारण सक्रिय भई प्रभावकारी योगदान दिन सकिएन र सकिरहेको छुईन |

ब्यबसायिक संस्थाहरुमा बिएनएलएको संस्थापक सदस्य, सर्बोच्च अदालत बार एशोसियसन नेपाल, आईएलपिए, जेसिडब्लुआई युकेको सदस्य र पुरात्वतिक संरक्षणको लागि होस्टेमा हैसे स्वरूप तमु संग्रहालय, लमजुङ्ग नेपालको पनि परम बिशिस्ठ आजिवन सदस्य रहेकोछु |

समाज विकास र परिबर्तनका गति र क्रम  सम्बन्धि बौद्धिक गोष्ठीहरु भने सके सम्म नछुटाउ भन्ने लाग्छ | तर आज भोलि शारिरिक स्वास्थ्यका कारण कहिँ कतै जान त्यति जाँगरै आउदैन | सायद यो पनि नियतिको निर्देशननै होला भनेर चित्त बुझाउछु |

मेरो ७० औँ हिउद र बर्षको रमाईलो यात्राको अनुभवले मलाई के अनुभूत भयो भने आजको एक्काईसौ शताब्दिको डिप्लोम्याटिक सहकार्य र सामुहिक उपयोगबादी युगमा कोहि कसैको शत्रु मित्र, दुख सुख, सहज असहज, स्वर्ग नर्क, धनि गरिब अरुको कारणले मात्रै नभई आफुले सारा जीवन र जगतलाई हेर्ने दृस्टिकोण, गर्ने ब्यबहार,सोच, संगत, कर्म र मुख्य त आफ्नै कारणले पैदा हुने रहेछ | 

ह्यान्डल गर्न जानियो भने प्रकृतिका सारा बस्तुहरु र प्राणीहरु हाम्रै साथ सहयोग र सुखको लागि र जानिएन भने सत्रु भएर खडा हुने रहेछ |

त्यसैले सारा संसारका हर समय, ठाउँ, बस्तु र व्यक्तिको न्यानो काखको सुन्दर मायामा रमाउदै जिम्मेवार र सुखि मानिस भएर युगौ युग दिन र रातको सुर्य र चद्रमा झैँ भई उदाउदै रमाईरहने हो भने हामिले सबै सबै प्रति प्रतिशोध, पूर्वाग्रह,  घृणा र ईर्ष्याको दृष्टिले होईन कि करुणा, सदभाव, माया प्रेम, खुशि र गौरव, सम्मान, परस्पर सहयोगि, सुन्दरताको सृजनात्मक सोच र शुभेच्छ्या राख्दै, ठान्दै असल नियतकासाथ ज्ञान, बिज्ञान,परमज्ञान, सत्सोच र सत्कर्मका मार्गलाई चाहि सपना बिपना हर समय पछ्याई रहनु पर्दो रहेछ | 

त्यसपछि प्रकृतिको सिस्टमले नै हाम्रो सोच र कर्म अनुसारको जीवन र जिम्मेवारी निर्धारण गर्दै जाँदो रहेछ | हाम्रा नियत र सोच अनुसारका मार्गहरु भएर जीवन चक्रका यात्रा स्वत अघि बढ्दै जाँदो रहेछ | 

सुख र दुख रोज्ने जिम्मा हाम्रै हातमा हुदोरहेछ | म गलत हुन सक्छु तर मेरो अध्यन र अनुभवको निस्कर्स यहि हो |

नोट:- मेरो जीवन यात्राका अनुभवहरु बारे अरु बिस्तृत जानकारिको लागि कृपाय म आफैलाई फर्किएर हेर्दा

https://premgurung.com/2020/10/07/म-आफैलाई-फर्किएर-हेर्दा/ र कोरोनाको लकडाउनमा आफ्नै लघु कथा https://premgurung.com/2020/10/04/कोरोनाको-लकडाउनमाआफ्नै-ल/ शीर्षकको मेरो लेख हेरि दिनु हुनेछ भन्ने आशा गर्दछु –

Leave a comment