लेम्मो/लेम्बो लाम्छाने गुरुङहरुको पुर्खा डिट्ठा चम्पसिंह गुरुङ बारे आफ्नो बंशजहरु बिच प्रस्तुत संक्षिप्त जानकारी 

-अधिबक्ता प्रेम गुरुङ दुबो 

पुज्यनीय एबं आदरणीय लेम्मो/लेम्बो लाम्छाने बंशज परिवारजनहरु सबैमा साइनो अनुसार सेवाढोग आशिरबादकासाथै भगवानले हामि सबैलाई मानव जातीको कल्याणको लागि काम गर्ने नया शक्ति र ज्ञान प्रदान गरुन भनि प्रार्थना गर्दछु ,

 प्रिय आफन्त जनहरु, हामिमा अझै पनि शंकर चन्द्रबीर अघिका पुर्खाहरु बारे क्लिएर नभए झैँ लागेकोले थप जानकारी प्रस्तुत गर्ने प्रयास गरेकोछु ! यसमा केहि सुझाव र प्रश्नहरु भए यहि प्लेटफर्म वा ब्यक्तिगत कन्ट्याक्ट गरेर समेत सोध्न सक्नु हुनेछ भन्ने आशा गर्दछु | 

१) को हुन डिटठा चम्पसिंह गुरुङ ?

 चम्पसिंह गुरुङ बि. सं. १८६२ मा तत्कालिन नेपाल सरकारले पुर्बि नेपालको विजयपुर-चैनपुर क्षत्रका बसोबास, व्यापार र सिमा सुरक्षा लगायतका सम्पूर्ण राजकीय काम हेर्ने गरि डिट्ठा पदमा नियुक्ति गरि पठाईएका ब्यक्ति हुनुहुन्थ्यो र उहाको पिता प्रताप गुरुङ बि. सं. १८४९ मा भोट चीनसँग भएको युद्धमा बीरगति प्राप्त गर्नु भई शहिद हुनु भएको थियो भने चम्पसिंहले चैनपुरको सेकायामा मुख्य घर बनाई बस्नु भएको कुरा डा जगमान गुरुङज्युको अनुसन्धानबाट प्रमाणित भैसकेको र सेकायामा लेम्मो/लेम्बो लाम्छानेहरुको बसोबास शुरु देखि आज तक हुनु र हाम्रो डाङ्ग्रे धामीहरु कुल देवता बोलाउन जाने आउने गर्ने गरेकोबाट पनि स्पस्ट हुन्छ कि डिट्ठा चम्पसिंह गुरुङ पुर्बका लेम्बो/लेम्मो भनि चिनिने लाम्छानेहरुको पुर्ब बसाई सरि आउने पहिलो पुर्खा हुनुहुन्थ्यो |

२) के उनै चम्पसिंह गुरुङ पुर्ब तर्फ लेम्बो/ लेम्मो लाम्छाने गुरुङहरु भनेर चिनिने लेम लाम्छाने गुरुङहरुको पुर्खा हुन त ?

यस बारे माथि पनि भनियो र प्रकाश भतिजले साझा प्रकाशनका पूर्ब नि. महाप्रबन्धक नर ब सोल्टिज्युको २३ जनवरी २०२२ को Khabaruk.comमा प्रकाशित विचार बारे हामि सबै दाजुभाईहरुलाई ध्यानाकर्षण गराउनु भएका बखत पनि मैले प्रस्तुत गरिसकेकोछु र जुन हजुरहरुले पनि पढि सक्नु भएकोछ र पुन त्यसलाई यसको अन्तिममा( क मा) राखेकोछु| त्यो र मेरो पिताज्युको लगायत पुर्खाहरुको भनाई स्थलगत र बस्तुगत तथ्यहरुलाई समेत बिष्लेषण गरि हेर्दा स्पस्ट हुन्छ कि डिट्ठा चम्पसिंह लेम्मो लाम्छाने गुरुङ पुर्ब तर्फ आउनु हुने पहिलो हाम्रो पुर्खा हुन | 

३) शंकर- चन्द्रबीरको पिता जहरसिंह हुन कि चम्पसिंह हुन त ?

शंकर- चन्द्रबीरका पिता जहरसिंह हुन भने चम्पसिंह गुरुङ चाँहि बाजे हुन | त्यसको प्रमाण र आधार १८६२ मा पुर्ब आएका लेम्बो/ लेम्मोहरुको पहिलो पुर्खा चम्पसिंह लेम तमुको सन्तानहरुलाई नेपाली भाषामा उच्चारण गर्दै जाँदा लेम लेम्मे शब्दलाई लेम्मो /लेम्बो भनि उच्चारण हुनु देखि स्थानतरणले बिबिध पक्षमा ल्याउने परिवर्तन र स्वभावहरुमा आउने भिन्नताकासाथै सन्तानहरुको फैलावट टायम पिरियड लगायतको अनुमान र मेरो निम्न अध्यनले पुस्टि गर्छ | 

मेरो बाजे केशरमान गुरुङ बैदाङ्ग हुनुहुन्थ्यो र ठोक्किएको मर्किएको टाउको दुखेको सर्पले टोकेको लुतो र भलाएको चोप लागेर पाकेको खटिरा लगायत मन्त्र पढेर उपचार गर्नु हुन्थ्यो भने पिताजीले पनि तिनै पहाडे कागजमा लेखिएको मन्त्रहरु पढ्दै हामि मध्य कसैलाई घाउ चोट लागे फुकि दिने गर्नु हुन्थ्यो |

ध्वासोले कालो भईसकेको झोला( जाबी) मा पहाडे कागजमा लेखिएको थुप्रै मन्त्रहरु र अन्य बिभिन्न सरकारी लालमोहर लागेका लिखत कागजातहरु समेत त्यो झोलामा थियो, जुन एउटा डालोमा राखिन्थ्यो र त्यो डालोमा पुरानो ढेके पैसा लगायत बिभिन्न पुराना पुजा सामग्रीका बस्तुहरु धुप हाल्ने ठाउमा राखिने गरिन्थ्यो र त्यो डालो बजुले छुट्टिदा मेरो पिताजी जेठो छोरालाई धुप हाल्ने ठाउमा राखि पुजा गर्नु भनि दिनु भएको थियो र त्यसमा रहेको थुप्रै कागजातहरु मध्य भाग्यबस हर्कराज हवल्दार बाजेद्वारा लिखित टिपोट मैले पढेको थिए र त्यसमा उल्लेख भए अनुसार मेरो( हर्कराज हवल्दार बाजेको) जिजुबाजे चम्पसिंहको मृत्यु पश्चात मेरो बाजे जहरसिंह भेडी गोठमै बसि हिड्ने भएकाले र केहि भाईहरुबाट धोका खाई सेकाय तर्फका सबै सम्पति छोडि नावालक कान्छो भाई नैनसिंह र दुई भाई छोरा शंकर र चन्द्रबीरहरुलाई समेत लिई दिङ्गलाको तुङ्गेछा भन्ने ठाउमा आई बसोबास गरेकोमा त्यहा अनुकुल परिस्थिति नभएकोले हाल खोटाङ्गको बादुङ्ग भन्ने ठाउमा गई ढालफाड गरि बसेकोमा त्यहा केहि उजण्ड ब्यक्तिहरुले घरै जलाई दिएका कारण त्यो ठाउँ छाडेर हालको काङ्गकाङ्गमा परिवारहरुलाई ल्याई राखेर जहरसिंह बाजे आफ्नो पिताजी चम्पसिंहको नाम लिई तत्कालिन शक्ति केन्द्रहरुमा रहेका ब्यक्तिहरुलाई गुहार्न गएको र त्यस ताकाका हर्ताकर्ताहरुले चम्पसिंहको छोरा भनि साथ दिनुकासाथै चम्पसिंहकै नामले स्थानिय राई जिमिन्दारहरुलाई परिचय गराई मुखियाको जिम्मेवारी दिनकोसाथै बादुङ्गमा फाडेको जग्गाहरु समेत उसैले भोग्न पाउने र काङ्ग काङ्ग तर्फ पनि बसोबास गर्ने गराउने जिम्मेवारी पाएकाले जहरसिंह बाजे चाहिँ काङ्ग काङ्गमै बस्नु भएको र केहि समय पछि कान्छो भाई नैनसिंह चाहि विबहा गरि तुङ्गेछानै फिर्नु भएको( तुङ्गेछाका सेते लाहुरे काका भन्नेहरुको च्याब्ज्यु) र बादुङ्गमा चाहि आफ्नो ससुराली मावली र चेलीहरुलाई ल्याई बसोबास गराउनु भएको भन्ने उल्लेख थियो | त्यसै लामो टिपोटमा चम्पसिंहको पिता प्रताप भोट चीनसँगको युद्धमा मृत्यु भएको र त्यस पश्चात घोताने मावलीहरुले पालनपोषण सरसहयोग गरेको हुदा उनी पुर्वमा सेटल भई सकेपछि घोताने मावली खलकहरु लगायत आफन्त लम(लामा) गुरुङहरु र आफ्ना अन्य लेम दाजुभाईहरुलाई पनि ल्याई चैनपुर हाल संखुवासभा जिल्लाको बिभिन्न स्थानहरुमा बसोबास गराउनु भएको थियो भनि उल्लेख गरिएको थियो | पक्कै पनि त्यस समयको नेपाल सरकारका हवल्दार हर्कराज बाजेले सरकारी कागजपत्रहरु हेरेरै लेख्नु भएको हुनु पर्छ र ति लिखतहरुकासाथै आफ्ना पुर्खाहरुले सुनाउदै आएका सुचनाहरुकै आधारमा मेरो पिताजी लगायत हाम्रा पुर्खाहरुले भन्ने गर्नु भएकोरहेछ र खम्बसिंह काकालाई पनि भन्नु भएकोरहेछ भन्ने कुरा हाम्रो बंशावली पढ्दा पनि मैले थाहा पाए |

४) त्यसो हो भने जहरसिंहलाई कतिपयले किन चम्पसिंह भनि भन्ने गर्छन त भन्दा माथि भनिएझैँ आफ्नो पिताजी चम्पसिंहको नामले चिनिएर त्यस समयका त्यस ठाउका समुदायहरुसँग घुलमिल भई बसोबास सहज बनाई पहिचान निर्माण गरेका हुनाले जहरसिंहलाई आफ्नो पिताको नामले चिन्ने गरेका रहेछन भनेर बुझ्न सकिन्छ | अत माथि उल्लेखित हर्कराज हवल्दार बाजेको टिपोटको आधारमानै मेरो पिताजी मणिप्रसाद गुरुङले चम्पसिंहको पिता प्रताप गुरुङ हो भनि भन्नु भएको हुनु पर्छ र मैले पनि त्यो समेतलाई आधार मानि शंकर – चन्द्रबीरको पिता जहरसिंह र बाजे चम्पसिंह गुरुङ हुन भनि लेखेको हु ( हेर्नुहोस खम्बासिंह गुरुङको भनाई – लेम्मो लाम्छाने बंशावली  -२०५६, पेज ण प्यारा ११ लेखक खम्बासिंह गुरुङ, प्रमुख संकलक एबं महासचिव बंशावली प्रकाशन समिति २०५६ )|

यसलाई अझ स्पस्टसँग बुझ्नलाई राजा महाराजाहरुको थरगोत्र ग्रहण र परिवर्तन गर्ने प्रथा चंखेजखान देखि प्राचिन भारत बर्षका बिभिन्न राज्य रजौटाहरुको ईतिहास बंशावली हेर्दा र विलियम या फिलिप प्रथम दितिय तृतीय भनि नाम राख्ने गरेको देखि जङ्ग बहादुर कुवर राणा बनेको, उनको पुरै सन्तानलाई भाई धिरशमसेरको सन्तानले Massacre गरे पनि सबै राणाहरु जबरा भन्दै उहि नामले चिनिदै जाने जस्ता प्रथा अनुसारको मनोबिज्ञानले पनि जहरसिंहलाई आफ्नो पिताजीको नामले त्यस ताकाको समाजले चिन्ने गरेको हुन सक्छ |

अब जाउँ केशरमान बैदाङ्गि बाजेको त्यो कालो जावी झोला कहाँ होला त ? त्यो झोला मेरो साँहिला बाबुले मुलघर( कान्छा बाबु बस्नु भएको घरमा) मै राखौ भनि लानु भएको हुनाले त्यो मेरो कान्छा बाबु वा साहिला बाबु मध्य एक जनाको घरमा हुनु पर्छ  तर बसाई सराईका कारण हराउन पनि सक्छ | बसाई सराईले गर्दा मैलेनै लेखेको र संकलन गरेको महत्वपुर्ण पुस्तक पत्रपत्रिकाहरु समेत सुरक्षित राख्न नसक्ने अबस्थाहरुबाट गुज्रिदै जीवन यात्राहरु अघि बढाउनु पर्ने बाध्यताहरुका कारण र बि. सं. २०२४ देखि बाहिरको बाहिरै र ब्यस्त रहिएकाले समयमै काका बाबुहरूसँग भेटेर गफगाफ सोधपुछ गर्न सकिएन र अब फुर्सद छ तर स्वास्थ्य र कोरोनाका कारण कान्छा बाबु र इन्द्र भाईलाई भेटेर यस बारे जानकारी लिने सोच सोचै मात्र भईरहेकोछ | हेरौ नियतिले के गर्छ ?

ई. सं. २०१५ तिर युकेको रिडिङ्ग शहरको कोभेन्ट्री रोड स्थित मेरो घरमा टिका दाई भाउजु, कना दिदि र मेरो श्रीमतीसहितको भेटघाटमा पनि टिका दाईसँग हाम्रो पुर्खाहरुको आगमन र बि. सं. २००७ सालको क्रान्तिमा उमेर पुगेका छोरा मान्छेहरु जति राणाको फौजसँग डाडातिर लड्न जानु भएको र छोरी मान्छे र केटाकेटी जति ठुलो भिर मुनि लुक्न गएको र कुल(बायु) पुजा र पुर्खाहरुको गतिबिधि लगायत धेरै बिगत बारे छलफल भएको थियो भने माहिला दाईसँगको छलफलको निष्कर्स पनि हाम्रो पुर्खाहरु बारे माथि उल्लेखित बिषयहरुनै सहि हो भन्ने रहेको थियो | त्यस समय टिका दाईले भोलिका पुस्ताहरुलाई चाख र काम लाग्ने थुप्रै संस्मरणहरु सुनाउनु भएको थियो जसलाई समयले साथ दिएमा लेखेर भोलिका पुस्ताहरुलाई छाड्नेछु | 

पाखा घरे लखने बाजे(लखन गुरुङ) मेरो पिताजीको कान्छा मामाको घरमा बडा दशैँ र चैते दशैँ ताका रातको समय गोप्य पुजा हुन्थ्यो र त्यसको मुख्य पुजारी देउजा बाजे जो मेरो पिताजीको माहिला मामा लाल बहादुर गुरुङ हुनुहुन्थ्यो भने बादुङ्गबाट जोगी साधु मामा( कर्णेल सर्बध्वज गुरुङको जेठी श्रीमती तर्फको जेठो छोरा र कान्छी श्रीमती तर्फका छोराहरु मेरो मामा पर्नु हुने पुर्व अन्चलाधिस नवराज गुरुङहरु रुम्जाटार) बैदाङ्गी बाजे, दर्ब्य सुबेदार मामा, गोपाले बाबु सम्दिहरु मध्य दुई जना आउने गर्नु हुन्थ्यो र यो गोप्य पुजाको सुरुवात गराई घोतानेहरुलाई पुजा गर्न जिम्मेवारी पनि चम्पसिंहले नै दिनु भएको भनि दर्ब्य मामा देउजा बाजे लगायत पाचै जना अग्रजहरुले भन्नु हुदै लाम्छाने र घोतानेहरुको नाता सम्बन्धहरु बारे सुनाउनु हुन्थ्यो | पुजा सकिए पछि सबै आआफ्नै घर जान्थ्यो तर मत सानै थिए र बाबु आमा दुवै तर्फबाट पुजा हुने घर मेरो मावली घर भएकोले म चाहि त्यहि सुत्थे र भोलि पल्ट पर्सादहरु खादै बादुङ्गबाट आउनु हुने मावली पाउनाहरुसँग गफ गाफ हुन्थ्यो र ति गफहरुबाट पनि हर्कराज बाजेको भनाईहरु पुस्टि भएको मैले पाएँ |

५) यसै सन्दर्भमा पोलो लेम लाम्छानेहरुको बारेमा पनि हाम्रो लेम्मो लेम बाबु बाजेहरु र पोलो लेम लाम्छाने काका बाबुहरू बिशेष त मेरो हाडे बज्युको कान्छी बहिनिको छोरा टाटे मुखिया भनेर चिनिनु हुने छिनामखु नौले गाउँका रत्न बहादुर काका, बिरकाजी दाईको बाबा दिले हवल्दार भनेर चिनिनु हुने हवल्दार दिल बहादुर गुरुङ( भोजपुरको मलुवा पोखरी र भोटे काटे डाडा मुनि गोठमा बस्दा गफ हुन्थ्यो), पुर्व प्रधानपन्च नर बहादुर काका( नेपाल गुम्बा ब्यबस्थापन समितिका पुर्ब कार्यकारी अधिकृत नरेन्द्र भाईको पिताजी), खोटाङ्ग नेर्पा गाऊँका मेरो ठुलबाबु( मेरो ठुली आमाको श्रीमान) गर्जमान गुरुङ र दिङ्गला चाम्लादाङ्गका धनजीत बडाहरु समेतको भनाई अनुसार पुर्वमा पोलो लेम लाम्छाने भनि चिनिने लाम्छानेहरु पनि शहिद प्रताप गुरुङकै काका बाबुका सन्तानहरु हुन र उहाहरुको पुर्ब आउने पहिलो पुर्खा बडो झ्वाक्की आँटि र कुस्ति छेलो घोड चडीमा माहिर अनि गलामा ठुलठुलो पोलोको माला लगाएर झिल्के भएर हिड्ने भएकाले पोलो लेम लाम्छाने भनिएको हो तर हाम्रो जिजुहरु दाजु भाई हुन है भन्ने गर्नुहुन्थ्यो तर त्यसमा अझ अनुसन्धान गर्नु पर्छ कि ? अन्यथा भए क्षमा चाहन्छु | सुनेको कुरा उजगार गर्दा अनुसन्धानमा सहयोग पुग्न सक्छ कि भन्ने मनसायले मात्रै उल्लेख गरेको हुँ |

६) के ? बि. सं. १८६२ मा पुर्ब आउनु भएको चम्पसिंहको सन्तानहरु २१६ बर्षमै सेकायाबाट काङ्ग काङ्ग सोलु रामेछाप ताप्लेजुङ्ग सिलगुडी दार्जीलिङ्ग आसाम आदि ठाउहरु हुदै बिश्वभर छरिन सम्भव छ ?

एकदमै सम्भव देखिन्छ, किनभने चम्पसिंहको पिता प्रताप गुरुङ र बंशु गुरुङ अनि राजा रण बहादुर शाह, गीर्बाण बिक्रम शाहहरु समकालिन हुन र  राजा ज्ञानेन्द्र सम्म आउदा नौ पुस्ता हुन्छ र बंशुको सन्तान दाबी गर्नु हुने नर बहादुर क्वोने सोल्टिले आफु सातौ पुस्ता र लेख बहादुर लेम्मे भाइले आफु दशौ पुस्ता भनि उल्लेख गर्नु भएको पाइन्छ भने हामि प्रताप लेमको सन्तानमा म प्रेम दुबो सातौ पुस्तामा पर्छु भने मेरो काका पर्नु हुनेहरु खम्बसिंह लगायत सबै छैटौ पुस्तामा पर्नु हुन्छ र शंकर चन्द्रबीरकै सन्तानहरु पुर्ब- पश्चिम राजमार्ग बन्नु अघिनै चितवन सम्म पुगेको र म १५/१६ बर्षको हुदा सम्म हाम्रो भेडी गोठ गर्मिमा सोलुको मेरा हिमालका फाँटहरु र जाडोमा उदयपुरको खोँचहरु हुदै सिन्धुलीको कमलाखोँच भिमान सम्म चराउन लगिन्थ्यो भने अझ त्यसताका चुरे महाभारत हिमाली फाँट र उपत्यकाहरु हुदै फैलिन सजिलो भएकाले भेडा चराउने क्रममा चम्पसिंहका सन्तानहरु सेकाया देखि पश्चिममा खोटाङ्ग सोलु सिन्धुली र रामेछाप सम्म पुर्वमा दार्जिलिङ्ग सिलगुडी र मणिपुर सम्म फैलिएको पाईएकोछ भने अहिले त झन बिश्वभर फैलिरहेको पाइन्छ | यसमा अझ स्मरणिय के छ भने नेपालमा प्रजातन्त्र आउन(1950AD) अघि नेपालीहरुको सरदर आयु ३० बर्ष भन्दा कम थियो भने विबहा चाहि छोरा मान्छेको १५ र छोरी मान्छेको १२ बर्षको हुदा भई सक्थ्यो र बच्चा बच्चि बर्षै पिच्छे गरि पाउने र कम्तिमा पनि ६/७ जना पाएकै हुन्थ्यो र २/३ जना स्याहार नपुगेर मृत्यु भए पनि अरु बाच्थे र चार तिर छरिन्थे र फैलिन्थे | उदाहणकोरुपमा कुवरबाट राणा भएका जङ्ग बहादुर राणाहरुकै सन्तानहरुलाई हेरौ उनका सन्तानहरु कति छोटो अवधिमै नेपालमा मात्रै होइन इन्डियाको नैनीताल महारास्ट्र कलकता लगायत बिभिन्न ठाउँहरुमा समेत फैलिएकाछन र मेरै गाउका मेरै दौतेरिहरुले पनि ७० बर्षकै उमेरमा नाती पनाती खेलाई रहेकाछन भने कोहि देहरादुन र सिलगुडी, नागाल्याण्ड तिरै गएर उतै बसि सन्तान फैलाईरहेकाछन त्यसैले पनि ठोकुवा गरि भन्न सकिन्छ कि पुर्बतिरका सम्पुर्ण लेम्मो लाम्छानेहरु डिट्ठा चम्पसिंहकै सन्तानहरु हुन | यि बिषयहरुलाई बुझ्न हिजको जनजीवन र गतिविधिलाई सुक्ष्म ढङ्गले अध्यन गरि हेर्यौ भने स्पस्ट हुन सकिन्छ |

अझ यसरि पनि बुझौ कि हामि र हाम्रो समाजको यात्राका कुनै कालखण्डमा हाम्रो पुर्खाहरुलाई नराम्रो गरि ठेस लागेपछि हामि र हाम्रो समाजले बाटो बिराई हामिले बिगतलाई सम्झिने बुझ्ने र सिक्ने मानव सभ्यताका परम्पराहरुलाई नै भुल्यौ र बाबु बाजे भन्दा अघिल्लो पुस्ताहरुलाई बिर्सदै गईएका कारण र बिश्व युद्धहरु लगायत बिदेशी सेनामा समेत हाम्रो सहभागिता र रोजगारिको लागि जाने गरिएको कारण तत्कालिन चैनपुर प्रशासनिक क्षत्र हाल संखुवा सभाबाट भेडा चराउदै भोजपुर खोटाङ्ग सिन्धुली रामेछाप सोलु तापलेजुङ्ग इलाम आदि ठाउँहरुमा बसोबास गर्न पुगेका पुर्खाहरुको सन्तान रोजगारिको सिलसिलामा दार्जिलिङ्ग सिलगुडी मणिपुर सिक्किम आसाम आदि ठाउँहरुमा पुगेर उतै बसोबास गरेका डिट्टठा चम्पसिंहका हामि सन्तानहरुले आफ्नो पुर्ब आउनु हुने पहिलो पुर्खा चम्पसिंह हुन भनि सुन्यौ चिन्यौ तर पुर्खा चम्पसिंहको सुरुको नेजा थाकथलो चाहि अध्यन गर्ने अवशरका अभावका कारण आफु जन्मिएको ठाउँलाई नै मान्न र भन्न बाध्य भईएकोले अलमलिएका हौ |

एउटा उदाहरण दिन चाहन्छु कि बि. सं. २०४८ साल तिर म झापाको कलबलगुडी भन्ने ठाउँमा नेका को रास्ट्रिय सम्मेलनमा गएको समय पुर्ब एस पि रोहित मामा झापा चन्द्रगढी तिरै घर बनाई बस्नु भएको हुदा उहालाई भेटि राखौ भनि सोद्धै खोज्दै जादा रुम्जाटारबाट आएको एस पि रोहित गुरुङ भनि उहालाई सबैले चिन्ने गरेको र उहाले पनि त्यहि भन्ने गरेको पाईयो तर बास्तवमा उहाको पिता कर्णेल सर्बध्वज गुरुङ जो मेरो मावली बाजे समेत पर्नु हुन्छ र उहाको पुर्ख्यौली थलो त खोटाङ्गको बादुङ्ग हुन त्यस्तै भएका कारण यदि कोहि लेम्बो/ लेम्मोlलाम्छानेहरुले डिट्ठा चम्पसिंहको सन्तान हु भनि सम्झिनु भएको छ भने हाम्रो पुर्खा चम्पसिंह गुरुङ पुर्ब आउनु हुदाका पहिलो थाकथलो चैनपुरको सेकाया हो भन्ने बास्तबिकतामा कन्फ्युज नहुन सबैमा निबेदन गर्दछु |

७) हामिलाई हाम्रो बिगत इतिहास जान्न किन आबश्यक छ ?

प्राणीहरु र पानीको जीवन चक्र करिब करिब उहि ढंगले बिभिन्न रुप र स्वरुपमा चक्कर लगाई रहेको हुन्छ | चक्कर लगाउने क्रममा अलमलिएका पानी मुलधारको नदिमा मिसिनै नपाई सिम र आहालहरुमा अलमलिएर समुन्द्रमा नपुग्दै बाफ बनेर वा जमिन मुनि भासिएर अस्तित्वबिहिन भई मुलधारको नदि बनेर बग्दै समुन्द्र भएर आराम गर्दै हावा र हिउ भएर रमाउन नपाए झैँ हामि मानिसहरुले पनि असमयमै बिलिन भई मानव सभ्यताका सुन्दर जीवन चक्रका यात्राहरुमा रमाउदै मज्जा लिने अवशर नगुमाउन भनेर भगवानले मानिसलाई दिनु भएको ज्ञान उत्पादन र प्रयोग गर्ने उपाय सिक्ने र सिकाउने अनुभव, माध्यम, साधन र प्रेरणाको मुख्य श्रोतनै हिजका अनुभवद्वारा प्राप्त ज्ञान भएकाले मानिसहरुलाई इतिहासले डोरयाउछ, सिकाउछ, त्यसैले मानिस भएर जन्मिए पछि बिगत बर्तमान र भविष्य बारे जानकार हुनै पर्छ | अन्यथा त्यस्तो ब्यक्ति र समाज लोपै भएर पनि जान सक्छ र फेरि मानव जीवन प्राप्त नहुन पनि सक्छ | या बाटो बिराएर दुख पाउन पनि सक्छ भन्ने मेरो बुझाई छ | किनकी मान्छेहरु भनेको सारा बिश्व ब्रमाण्डको गोठालाहरु हुन |

शंकर चन्द्रबीर प्रतिष्ठानको मेसेन्जर ग्रुपमा पुर्ब प्रेषित पुर्ब मेसेज :- 

क) प्रकाश भतिजलाई आफ्नो पुर्खाहरु बारे प्रश्न र चासो राख्नु भएकोमा खुशि हुदै धेरै धेरै धन्यबाद र आशिरबाद दिन चाहन्छु ,

हामिले हाम्रो बंशावालिमा चैमारे लेमे लेखे पनि पुर्ब तिर हामि लेम्बो/ लेम्मो लाम्छाने भनेर चिनिन्छौ र त्यहि पहिचानद्वारा पहिले ति पहिचान बोकेका हामिहरु बिच जान पहिचान गरि हामिहरु कहिले र कसरि लेम्मो/ लेम्बो   लाम्छाने भनेर चिनियौ भनेर हाम्रो थाकथलो नेजा र पुर्खाहरु बारे खोजि गर्न हाललाई लेम्मो लाम्छाने नै भनेर अघि बढौ भनि खम्बसिंह काकासँग कुराकानि र सहमत भई अघि बढिरहेकाछौ |

गुरुङ भाषामा लेम र ब्राह्मण थर गोत्रमा लाम्छाने भनेर चिनिएका हामि सबै लेम लाम्छानेहरु एकै बाबु आमाका एकदमै नजिकका सन्तानहरु हौ त्यसमा कुनै संका छैन |

सबै शास्त्र र इतिहास सत्य हुदैन | त्यसमा पनि झन नेपालको त एकदमै विबादस्पद भएको भनेर वर्तमानका बिध्वान लेखकहरुले तर्क र प्रमाणसहित लेखिरहनु भएकाछन |

जहा सम्म डिटठा चम्पसिंहको कुरा छ, उहानै हाम्रो पुर्खा हुन भन्ने कुरा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङज्युले नै संखुवासभा जिल्ला खादबारी सेखाय, पाँङ्गमाडाडा देखि फ्याक्सिंदा घाट सम्म चम्पसिंहले बिर्ता पाएको उल्लेख गर्नु भएकोछ र सेखायमा अझै हाम्रो लेम्बो लाम्छाने दाजुभाईहरू मौजुदा छन र हिज हाम्रो काङ्गकाङ्गका बिजुवा कान्छा बाजे र खैलाका जेठा धामी बाजेहरू सेकायमा कुल बोलाउन जादा ढोले भएर खम्बसिंह काकाको बाबा मेरो बाबा लगायतका अग्रजहरु जानु भएको कुरा सुन्ने साँक्षि खम्बसिंह काका र म पनि जिउदै छौ |

शिकारी बंशु गुरुङ लम्जुङ्गको कपुर गाऊ गुरुङ भाषामा कोने नासाबाट आएकाले र कोने / घोताने अगुवाहरुको भनाइलाई आधार मानि डा जगमान दाईले बंशुलाई कोने भनि लेख्नु भएको पनि हुन सक्छ वा कोने नै पनि हुन सक्छ | तर कोने गाउमा क्वोनेहरु एक घर पनि छैन सबै लेम लाम्छानेहरु मात्रै थियो र छ |

अत बंशुलाई क्वोनेहरुले आफ्ना पुर्खा भनिरहेकाछन भने जसपुर तनहुका लेम लाम्छानेहरुले पनि हाम्रो पुर्खा हुन भनि तनहु र सिन्धुली गढिमा बंशुको स्ट्याच्युनै बनाएकाछन |

हामिले बुझ्नु पर्ने कुरा के छ भने बंशु घोताने भए चम्पासिंहको मामा र लेम लाम्छाने भए चम्पसिंहको काका बाबु पर्छ | यसमा खोजि भईरहेकोछ र गर्नु पर्छ |

इतिहास महापुरुषहरुको हुन्छ र हामि सम्पूर्ण तमु जातीहरु पनि महापुरुषहरुका सन्तानहरु हौ र त्यो जिम्मेवारी हामिले सम्हाल्नु पर्छ भन्ने उदेश्य बोकेर हामि सबै तमुहरु अघि बढौ भन्ने भावना लिनु पर्छ ! सुन्दर सपना र उच्च सोच लिई हिड्न छाड्नु हुन्न ! आगे भगवानको मर्जि !

म पात्र भएर लेखिएको छोटकरिमा हामि तमुहरु र हाम्रा पुर्खा चम्पसिंह गुरुङ समेत सम्बन्धि वर्णित मेरो म आफैलाई फर्किएर हेर्दाको लेखमा सहयोग पुग्ने गरि सुझावहरु पाउन र डि एन ए समेत अध्यन गरि नेपालीहरुको माईग्रेसन रुट र हामि गुरुङहरु बारे बास्तविक इतिहास जान्न र खोज्न भावि पुस्ताहरुलाई आँखि झ्याल हुने लेख मनमा छ हेरौ ! समयले के भन्छ |

अन्त्यमा सबै दाजु भाई दिदि बहिनिहरुमा सुस्वास्थ्य दिर्घायु र सुखद जीवन यात्राको कामना गर्दै अन्यथा भए माफि र सुझाव चाहन्छु |

सन्दर्भ सामग्रीहरु :- 

१) नेपाल एकीकरणमा गुरुङहरुको भूमिका – डा जगमान गुरुङ

२) तमुवानको एईतिहासिक बृतान्त – डा जगमान गुरुङ 

३) लेम्मो/ लेम्बो लाम्छाने बंशवाली २०५६ – प्रमुख संकलक खम्बासिंह गुरुङ 

४) नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङज्युको युटुब लगायत सामाजिक संचार माध्महरुमा प्रकाशित बिचार र अन्तरबार्ताहरु 

५) म आफैलाई फर्किएर हेर्दा लेख – प्रेम गुरुङ दुबो 

६) प्रेम गुरुङ दुबो( लेम्मे लाम्छाने, तमु) को आफ्नै शब्दमा संक्षिप्त यात्रा संस्मरण लेख 

७)  पुर्खाहरुको भनाई र मेरो बुझाई 

८) तमु गुरुङहरु सम्बन्धि बिभिन्न बीध्वानहरुको लेख र भनाईहरु |

    * शंकर चन्द्रबीर स्मृति प्रतिष्ठानको messenger chat बाट साभार |

Leave a comment