अधिवक्ता प्रेम गुरुङ्ग “दुवो”
नेपालको वर्तमान भूराजनीतिक अवस्था, भूपरिवेष्ठित कठिनाईले गर्दा छिमेकीहरुको पेलाई र हेपाई, वेलायतसँगको मित्रता र सँगतका कारण प्रथम र दोस्रो विश्व युद्धमा सक्रिय भाग लिई लिग अफ नेशन हुदै संयुक्त राष्ट्र संघको निर्माणमा हामी गोर्खालीहरुको पनि महत्वपूर्ण भूमिका र अंग्रेजहरुसँग युद्ध मैदानमा युद्ध गर्दा गर्दै मित्रतापूर्ण समझदारी भई हाम्रा केहि भूभागका साथै हाम्रा नागरिकहरु समेत त्यस ताकाका बृटिस ईण्डिया र हालमा पनि ईण्डिया र बेलायतका सार्वभौम सुरक्षाका लागि लडि रहेका कारण बृटिसका पालाका हाम्रा भूभाग र ती भूमिहरुका सुरक्षाका लागि जाने गरेका हाम्रा युवाहरुलाई भूमि सहित डिप्लोमेटिक ढंगले फिर्ता लिन सक्ने हैसियत निर्माण र सिक्किमीकरण हुनबाट बचाउन अर्थात ठुला–ठुला वृक्षहरुको सेपबाट बच्दै विशाल वृक्ष भएर विश्वलाई शितलता दिन सक्ने देशको रुपमा नेपाललाई बिकसित गर्दै लानको लागि पनि विश्वमा नेपाल र नेपालीहरु आफ्नै पहिचान, बहादुरी र पौरख बोकेर डाडाकाँडा फैलिनु पर्छ । फैलिनलाई थाँक्रो र टेवा त चाहिन्छ । त्यसै कारणले पनि दोहोरो नागरिकताको व्यवस्था हुनुपर्छ भनिएको हो ।
मैले बारबार भन्ने र लेख्ने गरेको छु की देशको अर्थ, त्यो देशको माटो मात्रै होईन । त्यो भन्दा ठूलो त्यो देश निर्माण गर्ने मानव समूहहरु हुन र ती समूहहरु भनेको हाम्रो सन्दर्भमा विश्वभर छरिएका गोर्खाली नेपालीहरु नै नेपाल र नेपाली राष्ट्रियताका संवाहक, दूत र राष्ट्रिय सुरक्षाका खम्बा र राष्ट्र निर्माताहरु हुन ।
२१ औं शताब्दीमा राष्ट्रवाद र देशभक्तिको प्रवर्धन, विकास र विस्तार खुम्चिएर संकिर्ण सोच र दृष्टिले होईन, फक्रिएर, फैलिएर आफ्ना पहुँच र शक्ति बढाउदै लगेर बचाउन र बढाउन सकिन्छ । पाखुरा सुर्किएर होईन, हिजका ईतिहासलाई वर्तमानमा व्याख्या गरेर अन्तराष्ट्रिय नैतिक समर्थन र न्यायलयहरु मार्फत सुरक्षित र एकिकृत गर्दै मजबुद भएर विश्व कै नेतृत्व लिन सक्ने हैसियत निर्माणले मात्रै वुद्ध र गोर्खालीको सपना साकार पार्दै नेपाली भनेर गौरव गर्न सकिन्छ । तर आज नेपाल र नेपालीहरु किन निरिह हुदै गईरहेका छन् ? त्यसैको कारण र उत्तर खोज्नैको लागि पनि निम्न कुराहरु उठाई रहेको छु ।
दोहोरो नागरिकता किन चाहियो भन्ने सन्दर्भमा विस्तृत व्याख्या सहित ११ अप्रिल २०१० मा तत्कालिन संविधान सभाका अध्यक्ष श्री सुवास चन्द्र नेम्वाङ मार्फत संविधान सभाका सम्पुर्ण सभासदहरु, त्यस ताकाका प्र. मं. माघव कुमार नेपाल, संवैधानिक समितिका सभापति निलम्बर आचार्य, विभिन्न दलका अध्यक्ष एवं वरिक्ष्ठ नेताहरु पुष्प कमल दाहाल, शेर बहादुर देउवा, झलनाथ खनाल, विजय कुमार गच्छेदार, उपेन्द्र यादव लगायत अन्य सबै दलका अध्यक्षहरुलाई हुलाक मार्फत स्पेसल रजिस्टर्ड गरि पठाएको थिएँ भने एनआरएनए यू.के. का तत्कालिन अध्यक्ष र महा सचिव, विभिन्न संघ संस्थाका अध्यक्ष, वुद्धिजिवि एवं समाजका अगुवाहरुलाई ईमेल मार्फत प्रेषित गरेको थिए ।
वौद्धिक व्यक्तित्व प्रोफेसर डा. सुर्य सुुवेदी, पूर्व गोरखा सैनिक एवं सामाजिक अभियन्ताहरु देउ कुमार गुरुङ्ग, दिलिप गुरुङ्ग लगायत थुप्रै मित्रहरुले समर्थन गर्दै शेयर गर्नु भएको थियो र अझै पनि नागरिकता ऐन निर्माणका क्रममा त्यो निवेदन सहित यो लेख विधि निर्माताहरु हरेकको हातमा पु¥याउनका लागि म वर्तमान एनआरएनए अन्तराष्ट्रिय नेतृत्वमा रहनु भएका अभियन्ताहरु लगायत सम्पूर्ण देशभक्त नेपालीहरुमा अपिल गर्दै दोहोरो नागरिकताको महत्व र नेपालको राष्ट्रियता बारे द्धिविधा नहुन आग्रह गर्दछु ।
संविधानको धारा १३ मा नागरिकताको प्राप्ति, पुन प्राप्ति र समाप्ति सम्बन्धि अन्य व्यवस्था संघिय कानुन बमोजिम हुनेछ भन्ने व्यवस्था र धारा १४ ले गैर आवासिय नागरिकताको व्यवस्था गरिएकोमा स्वागत र सम्पूर्ण राष्ट्रवादि नेपालीहरुलाई वधाई र तत्कालिन संविधान सभाका अध्यक्ष एवं सभासद, राजनैतिक दल र नेतृत्वमा रहनु भएका व्यक्तित्वहरुलाई हामी सबै सबै राष्ट्रवादि नेपालीहरुले धन्यवाद दिनु पर्छ ।
हामी सबैलाई थाहै छ, हिजो संविधान निमार्णताका विदेशी हस्तक्षप विरुद्ध उभिएर संविधान निमार्ण र घोषणा गर्दाका प्रस्रव बेदना र घटनाहरु, फेरि पनि वहुसंख्यक नेपालीहरुलाई विदेशी बनाएर नेपाललाई सिक्किमीकरण गर्न खोज्नेहरुले हामी नेपालीहरु बिच फाटो ल्याई फाईदा लिन नाङ्गो नाच देखाई रहेका छन । त्यसबाट नेपाल र नेपालीहरुले डराउनु पर्दैन, हामीले हामी आफैलाई चिनेर मिलेर जान र हिड्न सिक्यौ भने श्री पशुपति महादेव, वुद्ध र गोर्खालीको देश नेपालले कसैसँग डराउनु पर्दैन । हामै्र संकिर्ण लोभी पापी सोचलाई पुर्खाहरुको सोच र हेराई तर्फ मोडयौ भने हामी विश्वकै समृद्ध र शक्तिशाली बन्न सक्ने राष्ट्रिय अन्तराष्ट्रिय पुर्वाधारहरु हामीसँग छ ।
हाल नागरिकता ऐन निर्माणका क्रममा, नेपाल राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने नेपाली पूर्खाका सन्तानहरु, जसले नेपाली जनतामा आधुनिक चेतना र प्रजातन्त्र ल्याउनमा तन मन धन दिएर योगदान पुराई बुढेसकालमा छोरा छोरीहरुको पछि लागी साहारा खोज्दै जाने देशभक्त र तिनका शोषित पीडित छोरा छोरीहरु जो इमान्दारी बचाउनकै लागी विदेश पसेकाहरु विरुद्ध विदेशी ईसारामा उनिहरुको नागरिकता खोसिने हल्ला र लेखहरु देखिन थालेका छन, त्यसबारे राष्ट्रवादी नेपालीहरु एकदमै गंभिर भएर, यो षडयन्त्र कसको ईसारामा भई रहेको छ भनि बुझ्नु पर्छ ।
जन्मजात मौजुदा नेपालीहरुलाई विदेशी बनाउन खोज्दा, त्यसको दुरगामी प्रभाव के पर्छ भनि सोच्न म स्वदेशी विदेशी सबै वौद्धिक वर्गहरुसँग आग्रह गर्छु । नेपालीहरुलाई फुटाएर नेपाल हडप्न खोज्ने ती देशलाई टुक्रा–टुक्रा बनाउने शक्ति हामी नेपालीहरुसँग पनि छ । नेपाल सिक्किम होईन, सिक्किमको समेत हकदार हुन ।
हामी सबैले ज्ञानी मानी सोच्दै आएका केहि हाम्रा वुद्धिजिवी भनिएका आफ्नै भाईहरुले समेत उमेरको बल होईनजेल विदेशी भूमिमा रगत पसिना बगाउने, अनि बूढो भएपछि हामीले पाल्ने भनि लेख्नु भएको देख्दा म एकदमै छक्क परे । हेर्नु होस, भाई पाल्ने सवालमा आफ्नो दाजुभाई जन्मजात अपाङ्ग भए पनि पाल्नु पर्छ । तर विदेश गई नागरिकता लिई तरक्कि गर्न सक्नेहरुलाई, पूर्खाका अंश खानको लागी भाई मार्न खोज्ने तुच्छ सोच बोकेकाहरुले पाल्नु पर्दैन । उसले त पौरख गरि विश्व भरका गरिव सोचका गरिब देशहरुलाई समेत खुवाई रहेका हुन्छ । पाली रहेको हुन्छ । नेपाल र नेपालीहरुलाई बलियो बनाई रहेको हुन्छ ।
विना पौरख र खुबि अन्य देशहरुको नागरिकता पाईने होइन । पौरख, इमान्दारिता र बुद्धि भएकाहरु बस्नै नसक्ने अवस्था आएकै कारण पौरखीहरु पलायन भएर विदेशीन्छन र हाम्रा जस्ता देशहरु गरिब हुन्छन । गरिब मात्रै होईन, पलायन भएकाहरुलाई फर्काउन सकिएन भने सबै अस्तित्व नै नास हुन सक्छ । संसारमा नास हुदै गईरहेकाले नै राष्ट्रहरु घटदै घटदै गएका हुन ।
तपाईलाई थाहा छ ? आज हाम्रो देशका ख्याती प्राप्त व्यक्तित्वहरु र धनाध्य व्यक्तिहरु समेत विश्वका सबै देशहरु घुम्ने आर्थिक क्षमता भएर पनि भिसा पाउन गाह्रो परिरहेको अवस्थामा नेपालका कला, साहित्य, संस्कृति, संस्कार र भाषा बोकेर हाम्रा लेखक कलाकारहरु विश्व घुमिरहेका छन । हाम्रा भाषा, संस्कार, संस्कृतिको प्रचार प्रसार गरिरहेका छन । विश्वलाई नै नेपाल बनाउने काममा जुटिरहेका छन र आधुनिक खेतीपाती व्यापार व्यवसायका बजारहरु बिस्तार गरिरहेका छन । यो संभव हुनको पछाडी तीनै नेपालमा पनि स्थायी घरबास भएका र विदेशमा पनि नागरिक अधिकार जमाउन सक्ने खुबि भएका महान गोर्खाली नेपाली सपुतहरु कै कारण हुन । जीउदा मान्छेहरुको राष्ट्रियता मौलाउदै जाने तरिका नबुझि अर्काको कुरा सुनेर उफ्रिदा खाल्डोमा परिन्छ ।
आजको युग लहुरो, खुकुरी, मुर्खे झ्वांक र तानाशाही, सामान्तीहरुको युग होईन । आजको युग त ड्रोन, रोवर्ट, आर्टिफिसियल इन्टलिजेन्स, अणुवम र ज्ञान, विज्ञान, परम ज्ञानद्धारा सारा ब्रमाण्डका प्राकृतिक नियमहरु बुझि मानव हितका लागी व्यवस्थापन गर्न सक्ने मान्छेहरुको युग हो । दुलो भित्र बसेर पुखौली सम्पतिको लागी लुछाचुडी गर्नेहरु कोही उभो लाग्दै लाग्दैन । गतिशिल संसारमा हामी नेपालीहरुले पनि गतिशित हुनै पर्छ । गतिहिन भईए, कुहिएर सडिनु सिवाय अर्को उपाय नै रहदैन ।
देशका लागी योगदान कै कुरा गर्ने हो भने पनि अहिले नेपालमा नेतृत्व लिइ बसेकाहरुका भन्दा बढि योगदान पु¥याएका ईमान्दारिता र नैतिकता बोकेका जेष्ठ र मध्यम उमेरका जन्मजात नेपालीहरु घरमा बसी पूर्खाको कमाईका लागी झगडा गर्नु भन्दा बरु बाहिरै बसेर कमाई पात गरी आफ्नो घरको मान मर्दन र इज्जत राखौ भनि केहि समय पन्छि दिने सोच राखेर स्वातन्त्रता र प्रजातन्त्रका सेनानी, प्रध्यापक, बुद्धिजीवि लगायत विभिन्न क्षेत्रमा योगदान पुराएका नेपाली प्रतिभाहरु अहिले बिदेश मै छन, किनकी आपसमा लडेर शत्रुलाई हसाउनु भन्दा, शक्ति संचय गर्नु राम्रो हो भनि विदेश लागेका हामी थुप्रै छौ र हामी सुतेर पनि बसेका छैनौ । यदि नेपालमै बसेर हामीलाई विदेशी भन्न समेत तयारी भएर देश बेच्छन भने त्यस पछि, हामी आफ्नो देश उकासेर पूर्खाहरुको इज्जत र गौरवलाई अझई उचाई दिने तर्फ लाग्छौ र लाग्नु पर्छ ।
त्यसैले घरको जिम्मेवारी लिएर बस्नु भएका प्रिय दाजुभाई, दिदीबहिनीहरु नेपालमा स्थायी बसोबास भई विदेशमा नोकर भएर होइन मालिक भएर काम गर्न खोज्ने दाजुभाई, दिदीबहिनीहरुको नागरिकता स्वत बदर गरि नेपाललाई आधुनिक दास उत्पादन र निर्यात गर्ने मुलुक बनाउने कानुन बनाइन्छ भने त्यो बुद्धिले नेपाल र नेपालीहरुलाई हित गर्दै गर्दैन र त्यो काम विदेशी एजेन्टले मात्रै गर्न सक्छ भनेर स्पष्ठ बुझ्न सकिन्छ । यदि नेपालीहरु साच्चि नै स्वाभिमानि र राष्ट्रवादी हुन भने नेपाललाई मानव तस्करी गर्ने मुलुक बन्न दिनु हुदै हुदैन । नेपालीहरुको खुट्टा भाच्ने कानुनलाई निरन्तरता दिई विदेशीका स्वार्थ पुरा गर्नेहरुको विरोध गर्नै पर्छ ।
हिज राणा शासकहरुले त राजनैतिक कारणले बृटिस इण्डियासँग सम्झौता गरी सैनिक सेवामा आफ्ना नागरिकहरुलाई पठाएका थिएँ । आज के कारणले मानव अधिकार र मानवियता नै नभएका मुलुकहरुमा हाम्रा कलिला स्कूल पढ्नु पर्ने नानीहरुलाई दास बनाएर बेचिदैछ ? मान्छे बेच्नका लागी मन्त्रालय र दुतावास खोलेर श्रम सम्झौताका लागी विदेशी सरकारहरुलाई गुहार्नु अब लजाउनु पर्छ ।
ईतिहासकार प्रमोद शमसेरले पत्रकार सन्त गाहा मगरसँगको अन्तरवार्तामा भन्नु भएको छ, – “चन्द्र शमसेरले आफ्ना नागरिकहरुलाई कुनै पनि हालतमा अफिसर पदमा बढुवा पनि नगर्नु, भर्ना पनि नगर्नु भनि बृटिस सरकारलाई गोप्य चिठि लेखेको देखेर बृटिस भाय सराय र कमाण्डर ईनचिफ छक्क परेका थिए, तर नेपाल सरकारको कुरा मान्न वाध्य थिए । किनकी दुई सार्वभौम देशका सम्बन्धको कुरा थियो ।”
यहाँ सारा नेपालीहरुले बुझ्नु पर्ने कुरा के छ भने बृटिस सेनामा जाने त्यस ताकाका गोर्खालीहरुले बृटिस र कमनवेल्थ देशका नागरिक सरह सेवा सुविधा नपाउनुमा पनि नेपाल कै कानुन र नेपाल सरकारको संकिर्ण सोच, नियत र दृष्टि नै बाधक बनेको थियो भन्ने प्रमाण त्यस बेलाका सन्धि सम्झौता, गोप्य कारोवार, चिठिपत्र र वेलायतका उदार कानुनी प्रावधानहरु अध्ययन गरिए स्पष्ट हुन्छ
हिज चन्द्र शमसेरले नेपालीहरुलाई अफिसरमा भर्ना नगर्नु भनि आफ्ना नागरिकहरुलाई बेच्नु र आजका नेपाल सरकारले गतिलो काम गर्ने तिर लागिस भने तेरो नागरिकता खोसिन्छ, तैले नोकर चाकरै भएर काम गर्नु पर्छ भनेर कानुन बनाई आफ्ना नागरिकहरुलाई धम्कि दिदै विदेश पठाउने नीति अनुसरण गर्ने हो भने नेपालको शासन नेपालीहरुले होईन कि विदेशी खुफिया एजेन्सिहरुले गरिरहेको छ भन्ने स्पष्ट हुन्छ । त्यसैले पनि अंशका लागी झगडा गर्नु भन्दा पौरख गरेर परिवारमा शान्ति ल्याउछु भन्ने दाजुभाई, दिदीबहिनीहरुको वंशै खोसिने नागरिकता ऐन ल्याईए वर्तमान नेतृत्व र विधायकहरुले राष्ट्रघाती काम गरेर देश बेचुवा कलंकका टिका लगाएको ईतिहास लेखिने भएकाले पनि हाम्रा हरेक सांसदहरुलाई राणा र शाहाकालिन गल्ति नदोहो¥याउन हामी हरेक राष्ट्रवादी नेपालीहरुले सचेत र सावधान गराउनु पर्छ ।
नेपालबाट विदेश लाग्नेहरु सर्व साधारण मात्रै होइन, इज्जत इमान नै नजोगिने स्थिति आए पछि वाक्क दिक्क भएर पूर्व राजनीतिक कर्मि, विद्धान, बुद्धिजिवि, विज्ञ र बहालवला राजस्व सचिव समेत पदै छाडेर विदेशिन बाध्य किन छन ? कार्यपालिका, न्यायपालिका, विधायकहरु, संवैधानिक अंगका पदाधिकारी, उद्योगपति, व्यापारी सबै किन असुरक्षित भई रहेका छन ? के भ्रस्ट नभई नेपालमा टिक्नै सकिन्न ? हो, टिक्नै नसकिने देखेरै ५० वर्षभन्दा बढि उमेरहरु देशको स्वतन्त्रता र समृद्धिको लागी दिदा पनि मेलो नआएकाले जिद्दिवाल भाईहरुलाई, उनीहरु कै हिसाबले केहि समय गरोस भनी नाङ्गेझार अवस्थामा विदेशिएर संघर्ष गर्ने हामीहरु थुपै्र रमिता मात्रै हेरेर बसेको छैनौ । देशकै लागि सोचेर सक्रिय भई रहेका छौ भने थुप्रै देशभक्त इमान्दार सेनानीहरु नेपाल मै अपमानित र दुःखीत भएर देशको वेहाल स्थिति हेरिरहनु भएको छ ।
जन्मजात नेपालीहरुको नेपाली नागरिकता स्वातः खारेज हुने विगतका शासकहरुद्धारा निर्मित नागरिकता ऐनलाई नै वर्तमान सरकारले पनि निरन्तरता दिईयो भने यो सरकारले राणा शासकहरुलाई पनि उछिनेर देश सानो बनाउने मात्रै होईन, पुरै गुमाउने डर र सम्भावना सबै राष्ट्रवादी शक्तिहरुले समय मै बुझ्न सक्नु पर्छ ।
तपाईहरुलाई थाहा छ ? बृटिसले भारत छोड्दा, नेपालका सबै भूभाग र हालका भारतका उत्तर पूर्व र उत्तर पश्चिमका थुप्रै भूभागहरु समेत नेपाललाई छाड्न अंग्रेजहरुलाई सहमत गराई कालिम्पोङ, दार्जिलिङका स्व. डम्बर सिंह गुरुङ्गका टोली नेपाल आएकोमा राणा शासकहरुले आफ्नो सत्ता खुस्किने डरले ती टोलीलाई पुलिस लगाएर मेचि नदि कटाई सुरक्षित हुन खोजेकोले नै नेपाल भूपरिवेष्ठित देश भएर खुम्चिनु परेको थियो । वर्तमान सरकारले पनि त्यहि किसिमका नीति, नियत र आचरण गरि आफ्नो सत्ता टिकाई राख्ने दुसपना देख्छ भने देशकै अस्तित्व माथि संकट आउन सक्ने भएकाले पनि यस विषयमा वर्तमान सरकार गंभिर हुनै पर्छ ।
नेपाललाई माया गरेकै कारण प्रथम भारतिय संविधान सभाका जननिर्वाचित सदस्य डम्बर सिंह गुरुङ्गले भारतका प्रथम उपराष्ट्रपति हुने अवसर गुमाउनु भएको थियो ।
मैले माथि पनि लेखिसकेको छु कि, देशको अर्थ र राष्ट्रियताका स्रोत त्यो देशको माटो मात्रैले पूर्ण हुदैन, त्यहाँ त्यो देशको माटोमा उम्रिएको, हुर्किएको मानवरुपी वृक्ष र लहराहरुको गहिरो अस्तित्व त्यहाँको माटोसँग बलियो गरि जोडिएकै हुनुपर्छ । अनि त त्यो वृक्ष र लहरामा फुलेका फुलहरुले नै त्यो माटोलाई मरुभूमि हुनबाट बचाउदै आफ्नो र देशको शान र सौन्दर्यताका खेति गर्दै, आफ्नो प्राणसँग जोडिएको माटोको सुरक्षाको लागि आफ्ना प्राण दिन समेत खुशि खुशि भएर तयार हुन्छन । भोलि त्यहि वृक्ष र लहराहरुमा फलेका विउँहरु संसार भर छरिएर उम्रिदै उम्रिदै झ्याङ्गिएर सारा विश्वमा नेपालका सुन्दर फुलहरु नेपाल र नेपालीहरुकै भाका र भाषामा शान्ति संमृद्धि र आत्मियताका सुगन्धहरु बाडदै रमाउदै जीवनचक्रहरु चलाई रहेका हुनेछौ ।
आज हामी सिक्किमीकरण र फिजीकरणका कुरा किन उठाई रहेका छौ भने हरेक राष्ट्रहरुले आफ्नो राष्ट्रिय पहिचान र विस्तारको लागि थिचो मिचो र अतिक्रमण गर्ने र गरिरहने प्रक्रिया सदा चलिरहन्छ । यति सम्म की प्रकृतिका रुख विरुवा र झारपातहरुमा समेत यी यस्ता गतिविधिहरु भईरहेको देखिन्छ । त्यसैले मानवरुपी नेपाली रुख विरुवा र झारपातहरुको जरा काटने काम हामी आफैले गर्नु हुदै हुदैन ।
आजको युगमा हरेक दृष्टि र सुविधाले गर्दा मानव जातिका लागी यो पृथ्वि एउटा सानो गाउँ जस्तै हुदै गइरहेको र पृथ्वि बाहेकका ग्रहहरु देश, महादेश र नयाँ नयाँ मुलुक हुदै अधि बढने सम्भावनाहरुको सन्दर्भमा हामीले हरेक विषय र वस्तुहरुलाई अन्धाले हात्ती छामेर हेरेझै होइन की, आँखा देख्नेले माउते भएर सारा विश्वलाई नै सजाएर सवार र अपनत्व ग्रहण गरि रमाउन सिक्नु पर्छ । त्यसको लागी हाम्रो देश नेपालले र नेपालीहरुले पनि आफ्नै ढंगले नयाँ नयाँ मार्ग चित्रहरु डिजाईन गरि सृजनात्मक ढंगले अघि बढन सक्नु पर्छ । त्यसको लागी सहजीकरण गर्नु पर्नेमा, खुट्टा तान्ने काम गरियो भने नेपाल र नेपालीहरुको हालत र अस्तित्व कस्तो होला ?
प्राचिन समयदेखि ज्ञान गुणका दृष्टिले अति नै समृद्धशाली देश नेपाललाई बेहाल हुनबाट बचाई एक्काइसौं शताब्दिका समृद्ध र नमुना राष्ट्रका रुपमा कसरी अघि बढाउन सकिन्छ भन्ने सन्दर्भमा मेरो चाडै प्रकाशन्मुख पुस्तक, मैले बुझेको म, मेरो देश र मेरो संसारमा विस्तृत व्याख्या गरि नयाँ सोच र प्रश्नहरु अगाडी सार्ने प्रयास गरेको छु । जसबाट हामी सबैलाई सारा जीवन जगत दर्शन र हाम्रा सहज मार्गहरु बारे अध्ययन, चिन्तन, मनन र छलफल गरि सहि मार्गहरु पहिल्याउदै अघि बढन मद्दत गर्नेछ भनि आशा गरेको छु ।
सार्वभौम शब्दको परिभाषा हिज जंगली र कृषि युगमा जमिन र स्वास्नी मानिसको रक्षा नगरि आफु, आफ्नो परिवार, समुह र समाजको जन्म, सुरक्षा, समृद्धि, विकास र पहिचान सुरक्षित ढंगले अघि बढाउन नसकिने भएका कारण जमिन र स्वास्नी मान्छेको सुरक्षाका लागी आहुती हुन पाउनु भनेको आफ्नो सार्वभौम बचाउनको लागी अमरत्व प्राप्ति अर्थात शहिद हुनु हो भनी प्रत्यक्ष लडाई, युद्ध, काटमारलाई उक्साइन्थ्यो । किनकी त्यो समय आफु बाँच्न र आफ्नो समाजका अस्तित्वलाई बचाई राख्न, मार्न मर्न अनिवार्य जस्तै थियो र जसको शक्ति उसको भक्ति बाहेक अरु उपाय हुदैन थिएँ । तर आज विश्व मानव सभ्यताको विकास संयुक्त राष्ट्रसंघको स्थापना, मानव अधिकारका भावना र विश्व व्यापार, मानव विवेक, मानव जातिको तिब्र आवतजावत, इन्टिग्रेसन र भूमण्डलीकरणका कारण अबको सभ्य समाजमा साझा धारणा, लक्ष्य, सहकार्य र समजदारी नभई हामी एक्लै एक पाइला पनि अघि बढन नसक्ने युगमा बाँची रहेका छौ ।
हाम्रा आवश्यकता पूर्तिका माध्यमहरु यति अन्तर सम्बन्धित हुदै गईरहेको छन की एक आपसमा निर्भर हुनै पर्छ । आज हिजोका जस्तो आफ्नै मात्र खेत बारी र देशको उत्पादनले घर परिवार, समाज र देशको आवश्यकता पुरा हुन सक्दैन । हरेक क्षेत्र र विषय बस्तुहरुमा साझा रहर, साझा प्रयास, साझा रमझम, साझा दुःख सुख, साझा संसार, साझा भान्सा र समाजको प्रचलन बढ्दै गईरहेको सन्दर्भमा नेपाल र नेपालीहरुले विश्व मानव संसारको रंगमञ्चमा आफ्ना सशक्त पहिचान सहित कसरी उपस्थिति हुने भन्ने बारे प्रश्नको जवाफ विश्वभरका नेपालीहरुले एक भएर सोच्नु र खोज्नु पर्छ ।
आजका मानिसहरु यो पृथ्वि भित्र मात्रै होईन । सारा ब्रमाण्डहरु चाहार्दै रमाउन चाहन्छन् । मंगलग्रहमा बस्न र घुम्न जानेहरुको लागि टिकट बुकिङ सुरु भई सकेको छ । ती ग्रहहरुमा समेत नेपाल र नेपालीहरुले आफ्नो देशको विस्तारका साथै राष्ट्रियता र सार्वभौमिकताको खेती कसरी गर्ने भनि विश्व भरका नेपालीहरुलाई समन्वय गरि थिंक टयांकहरु निर्माण र छलफल गरि परिचालन गराउनु पर्ने मेरो देश नेपालले एउटै कोखबाट जन्मिएको सन्तानलाई फुटाएर आफ्नो सतित्व लुटन खोज्ने बैरिहरुको षडयन्त्रको शीकार हुनबाट बच्नको लागी पनि नेपालले दोहोरो नागरिकता व्यवस्था गर्नै पर्छ ।
पराईको कुरा सुनेर पूर्खाहरुले बनाई दिनु भएको घरमा आगो लगाएर भीखारी मगन्ते, सुकुम्बासी, नोकर चाकर भएर हाईन, हाम्रा पूर्खाहरु प्राचिन महान सम्राट महादेवको शौर्य, बुद्धको ज्ञान, ऋषिमुनिको चिन्तन, गोर्खालीको शाहस र इमान्दारिता बोकेर विश्वको जिम्मेवारी सम्हाल्ने तर्फ सोचौ, लागौं । रावण भएर आफ्नै भाईहरुलाई विभिषण बन्न वाध्य नपारौ, राम भएर लक्ष्मण जस्ता भाई र हनुमान जस्ता मित्रहरु बनाउँदै अघि बढन सिकौ ।
नेपाल बाहिर व्यपार व्यवसाय गर्न जानेहरु जति सबै विदेशी, नेपाल भित्रै बसेर उद्योग व्यवसाय गर्नेहरु जति सबै चोर दलाल माफिया, देशको जिम्मेवारी लिनेहरु जति सबै भ्रष्ट र विदेशी एजेन्ट, बुद्धिजिवी र सर्वसाधारण जति सबै राजनैतिक दलहरुका हनुमान हुने र हुन भन्ने सोचबाट माथि उठि सम्पूर्ण विश्व र विश्वका सारा संसाधनहरुमा नेपाल र नेपालीहरुको पनि विश्वका धनाध्य देशहरुकै सरह पहँुच र अधिकार छ । हामी पनि ती स्रोतहरु व्यवस्थापन र परिचालन गर्न सक्छौ । विना रोक टोक विश्व भ्रमण गरि आनन्द लिन सक्छौ । हामी कसैको एजेन्ट, दलाल, नोकर चाकर होईनौ । हुन्नौ र भई हालेको रहेछौं भने पनि अव पश्चाताप गर्छौ र आफु आफै हिलो छयापा छयाप गरेर पराईको अगाडि तमासा देखाएर पूर्खाहरुको बेइजेती गर्दैनौ भनेर अब हामी सम्पुर्ण नेपालीहरुले कसम खाएर दुःख सुखमा एक भएर अघि बढ्न सिक्नु पर्छ । आफु आफै खुईला खुईली गरेर नाङ्गिदा पराईले हेप्छन भन्ने कुरालाई बुझेर सारा नेपालीहरु एक भएर हिमाल झै हाँस्न सिकौ । हिम नदिहरु झै बग्न सिकौ ।
प्रविधिको विकासले गर्दा अब यन्त्रहरुलाई दास बनाएर सारा मानिसहरुले मालिक हुन सिक्नु पर्छ । अवको मानव संसारलाई कसरी व्यवस्थापन गर्ने र मानविय भावनाहरुलाई जीवन्त र आत्मियता बनाउदै लाने भन्ने प्रश्नको उत्तर खोज्ने तर्फ लाग्नु पर्छ । हिजका तानाशाहाहरुले भाई लखेटने र मार्ने गरे झै गरि पशुपतिनाथ र बुद्धका जन्मभूमिले आफ्नै सन्तानलाई कट्टि गर्न सुहाउँदैन । यदि त्यसो गरे र भए पशुपतिनाथ र बुद्धको श्राप लाग्छ, लाग्छ ।
प्रकृतिको नियमै हो कि दिन रात, जन्म मरण, उत्थान पतन, विकास विनास, विस्तार र संकुचन भईरहन्छ । महादेवको युगमा नेपाल आजका यूरोप अमेरिका, रुस र चिन भन्दा पनि शक्तिशाली राष्ट्र थियो । यस बारे विस्तृत व्याख्या पछि मेरो पुस्तकले गर्नेछ ता पनि भन्न खोजिएको के हो भने, घर वा देश निर्माण भूगोलले होईन, मान्छेले गर्छ । नामर्द डर छेरुवा लोभीहरुले होईन, विशाल छाति भएका महापुरुषहरुले गर्छ । अरुलाई मार्नेहरुले होईन, अरुलाई समेत बचाउदै मिलाएर हिड्ने र हिडाउनेहरुले नै सुन्दर घर संसारको सृजना गर्छ ।
आधुनिक युगमा राष्ट्रियता लालाबाबु पण्डित प्रवृति र दृष्टिमा होईन, उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो जस्ताहरुको भावना भित्र पनि देख्न सक्नु पर्छ । म नेपाली हुँ भन्दा भन्दै पनि तँ विदेशी होस भनेर खेदो खनी रहने हो भने नेपालका लागी मरि मेटनेहरु बाँच्न कै लागी पनि भोली म विदेशी नै हुँ भन्न बाध्य हुने गरि घचेटि दिदाको परिणाम के हुन्छ ? विश्व इतिहास बुझ्नेहरुले देखिरहेका छौ ।
विश्वका विकसित मुलुकहरु, संयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय वित्तिय संघ संस्थाहरुका कार्यकारी प्रमुख हुन सक्ने बौद्धिक हैसियत र योग्यता क्षमता राख्न सक्ने एउटै कोखबाट जन्मिएका आफ्नै सहोदार दाजुभाई, दिदी बहिनीहरुलाई पराई बनाउने नागरिकता ऐन बनाईयो भने सबै नेपालीहरुलाई विदेशी बनाउने पराईका सपना त पुरा हुन्छ, हुन्छ । तर हामी सबै नेपालीहरुको हत्यामा संलग्न हुने नेपाली भर्सनका लेण्डुप दोर्जेहरुको सपना भने चकना चुर भएर पश्चातापको ज्वालामा युगै युग जलि रहनेछ ।
त्यसैले प्रिय भाईहरु, आफ्ना सन्तानहरुको वंश खोस्ने दुस्साहस नगर्नु होस । विश्वभरका प्रतिभाहरुलाई समेटेर नेपाललाई विश्वकै समृद्ध र शक्ति राष्ट्र बनाउने ऐन नियम र सिस्टमहरु बनाउने तर्फ लाग्नुहोस । अनि मात्रै हामी नोकर भएर होईन, मालिक भएर विश्वमा चिनिन सक्छौ । त्यो बुद्धि खुबि र भिजन भएका र केहि गरौ भन्नेहरु नै विदेश गएका छन । नेपालमा बस्नेहरुले पनि कसरी ठग्ने भनेर होईन, कसरी गर्ने भनेर सोच्ने संस्कार बसाउँदै अगाडी बढौ । विदेशमा तरक्कि गर्नेहरुले नागरिकता बुढेसकालमा बृद्धभत्ता खान र साहारा लिनलाई मागेको हाईन । युरोप, अमेरिका र अष्ट्रेलिया जस्ता देशहरुमा नागरिकता लिएर बस्नेहरु एसिया, अफ्रिका र अरबियन देशहरुमा मजदुरी गरेर घर फर्कने दाजुभाई, दिदीबहिनीहरु जस्तै असुरक्षित र निरिह स्थितिमा जीवन गुजारी घर फर्किन बाध्य हुनेहरु होईन । उनीहरु त आफ्नो पवित्र मातृभूमि प्रति विश्व भरका नेपालीहरुको भावनात्मक सम्बन्धलाई सधै सधै जीवन्त राखी नेपाल र नेपालीहरुको स्वाभिमानलाई बचाउदै अघि बढन प्रेरित र प्रतिकको रुपमा नेपाल एक पबित्र मन्दिर बनोस र सधै सधै बनि रहोस भन्नका लागी मात्रै हो ।
महान कलाकार अर्निकोलाई हामी राष्ट्रिय विभूतिको रुपमा सम्मान गर्छौ भने उनको सन्तानले वायोलोजिकल प्रुफसहित म नेपाललाई माया गर्छु भनि भन्यो भने गैरआवासिय नागरिक हुदै नेपालको नागरिक भई सेवा गर्ने अवसरको ढोकाहरु राखि दिए, प्रथम सगरमाथा आरोहि तेन्जिङ्ग शेर्पाको नातिले मेरो बाजे कहिल्यै नेपालको नागरिक थिएन र होईन भन्न वाध्य हुने थिएन कि ?
केहि भाईहरुले बडो निर्दयी ढंगले आफु मात्रै राष्ट्रवादी भए झै गरि लेख्नु र भन्नु भएको प्रश्नहरु सञ्चार माध्यमहरुमा देखियो कि, उमेर हुदा सम्म विदेशमा रगत पसिना बगाउने र बुढेसकालमा नेपालले पाल्नु पर्ने ? यो कुरा नेपाल सरकारले खाडी लगायतका देशहरुमा मजदुरी गर्न बेचेका इमान्दार भाई बहिनीहरुमा लागु हुन सक्ला तर सम्पन्न देशका नागरिकता लिएर जमेकाहरुका कुरा गर्ने हो भने यो तीरको मार नेपालमा बस्ने हामी नेपालीहरुकै छातीमा रोपिन्छ, किनकी नेपालमा नेपालीहरु नै लगानी गर्न नआए पछि तीनै लेख्ने भाईका सहोदार छोरा नातीहरु समेत रोजगारी र अवसरका लागी विदेशिन वाध्य हुन्छ र नेपाल आधुनिक दास उत्पादन गर्ने कारखाना नै भै रहन्छ । के सबै नेपालीहरु रहरले विदेशिएका हुन ? होईन भाई होइन, हामी रहरले होइनौ कहरले रुदै रुदै विदेशिएका हौ । यो शब्द लेख्दै गर्दा पनि म रोई रहेको छु र विदेशमा रोईरहेका थुपै्र थुपै्र दाजुभाई दिदी बहिनीहरुको आशु र मेरो देशमा बस्ने दाजुभाईहरुको लुछाचुडीको तमासा देखेर म मेरो नेपाल आमाको चिन्तामा किमकर्तव्यविमुड भएर उपाय सोच्न गुफा पसेर बसेको छु । आउने पुस्ताहरुलाई हाम्रा महान पूर्खा र देशको इज्जत हामीले नै राख्नु पर्छ भनेर भन्न खोजिरहेको छु । यहि हो हामी सम्पुर्ण गोर्खाली नेपालीहरुको आवाज । यहि हो हामी सबैको चाहाना र धर्म ।
अँ, बुढेसकालमा पाल्नु पर्छ भनेर सोझा नेपालीहरुलाई भडकाएर नेपालीहरुलाई अल्पमतमा पारी देश बेच्न खोज्ने भ्रममा रहनु भएका भाईहरुले के बुझ्न जरुरी छ भने विदेशी नागरिकता लिई अरबपति बनेका शेष घले जस्ता घनाध्यहरु यूरोप, अमेरिका र अष्टे«लिया लगायतका देशहरुमा थुपै्र छन । के तिनीहरुलाई नेपाल आएर अवकास जीवन विताउन चाहे भने तपाईहरु जस्ता संकिर्ण सोच भएका भाईहरुले पाल्नु पर्ला र ? एकछिनलाई ति त्यस्ता धनीहरुको कुरै छोडि दिउँ, नेपालकै नागरिकता बोकेर नेपाललाई रोयल्टी तिरेर लगेका बृटिस आर्मिका भू.पू. सैनिकहरु जो हिज १५ वर्ष काम गरेर पकाएको सामान्य सिपाहीको पेन्सन समेत हाम्रो देश नेपालको मन्त्रि, सचिवको तलव भन्दा बढि हुन्छ, भने अब २२ वर्ष काम गरेर अंग्रेजहरु सरहको पेन्सन पाउँनेहरुको कति होला ? उनको तलब र फाल्टो कमाईहरुको त कुरै छोडौ ? त्यस्तै सैनिक सेवा बाहेक अन्य क्षेत्रहरुमा काम गर्नेहरुको समेत हप्तामा ३६.५ घण्टा काम गर्नेहरुले ६५ वर्षको उमेरमा विभिन्न एजेन्सिहरुमा काम गर्दाको पेन्सन र स्टेट पेन्सन गरि मासिक रुपैयाँ बिस लाख भन्दा माथि पाउँछन भने ती नेपालीहरु नेपाल फर्किदा तिनका ति पेन्सन वाहेक अन्य सम्पति समेत लिएर बस्न आयो भने विदेशमा गएर अपमानित भई विदेशीको घरेलु नोकर गर्नु भन्दा आफनै बाबुआमाको सेवा गरेर आफ्नै देशमा बस्न पाउनु राम्रो होइन र ?
विदेशबाट फिर्नेहरुले मिहिनेत, इमान्दारिता र डिगनिटीको महत्व बुझेको हुन्छन । नेपालमा बसेर तास खेल्दै, किर्ते काइते कुरा गर्दै बस्ने बानी छुटि सकेका हुनाले उनीहरु बुढेसकालमा पनि आफ्ना कमाई खर्च गरेर नेपालमै असाहय बालबालिकाहरुलाई शिक्षा दिने, बृद्धा आश्रम र असाहय केन्द्रहरु संचालन गर्ने गरेर आफ्नै देशमा रमाउन चाहन्छन भने नेपाल र सबै नेपालीहरुले खुसि मान्नु पर्ने होईन र ? नेपालमा कसरी रोजगारी सृजना गर्ने भनेर सोच्नु पर्नेमा कसरी ठग्ने भनेर सोचि रहने हो भने कहिल्यै उभो लागिदैन भन्ने सत्यलाई हामी सबैले बुझ्न सक्नु पर्छ ।
विदेशमा गएर अन्तराष्ट्रिय स्तरका विविध क्षेत्रमा प्रगति गरेका बौद्धिक व्यक्तित्वहरु र धनाध्यहरुलाई त नेपालमा नै आएर बसेर विश्वका अवसर र बजारहरुलाई क्याप्चर गरी नेपाललाई नै यूरोप, अमेरिका, जापान, अष्टे«लिया भन्दा आकर्षक ठाउँ बनाउँ भनेर स्वागत गर्ने कानुनहरु बनाउनु पर्नेमा, तिनीहरु नेपाली नै होईनौ भन्ने कानुन बनाएर हामी के गर्न खोज्दै छौ ? यसको भावी असर के पर्छ भनेर हामीले सोच्नु पर्दैन र ? रोजगारीको सृजना र आर्थिक उन्नती गर्ने आइडिया नभएकैले हामी गरिब भएका हौ भन्ने कुरा बुझ्ने समय आएन र ? त्यसैले अब जुठो हड्डिको लागी टोका टोक गर्ने होइन, मिलेर शिकार गर्न सिक्नु पर्छ । अन्तराष्ट्रिय अधिकारकर्मी एण्डी हलले भनेझै मलेशिया र अरबमा गएर आधुनिक दास भएर अर्काको काम गर्नु भन्दा त नेपाली नेपाली मिलेर नेपाली माटोलाई नै बहुराष्ट्रिय कम्पनिको केन्द्र बनाएर विश्वमा व्यापार व्यवसाय गर्नु राम्रो होईन र ? हामी किन किर्ते काइते सोच लिएर नेपालमा केहि गर्नै नसक्ने वातावरण सृजना गरिरहेका छौ ? के हामीले यसतर्फ अब पनि नसोच्ने ?
आजका नेपाल र नेपालीहरुले अझै पनि राजा र रैतिको समयका सोच र चिन्तन बोकेर बाँच्ने होईन, देशको नागरिक, देशको जिम्मेवार मालिक भएर बाँच्न र हिडन सिक्नु पर्छ । अरुलाई दोष दिएर, अरुको भरमा परजिवी भएर बाँच्ने स्वभावले मानिसहरु स्वतन्त्र हुन सक्तैन । आफै जिम्मेवार हुन सिक्नु पर्छ । ईष्र्या, आरिस, कुण्ठा बोकेर होईन । भगवान बुद्धले भन्नु भए झै अप्पो दिपो भव भएर हिड्न सिक्नु पर्छ ।
व्यापार व्यवसायको लागी पर्देश जाने चलन आज मात्रै होईन हिज पनि थियो । खास मुल घर एक ठाउँ हुन्थ्यो भने खेती गर्ने, व्यापार गर्ने, वस्तुभाउको गोठ राख्ने, जाडो र गर्मि मौसम छल्नको लागी पहाड, मधेस, लेकबेसी र हिमालमा घर बनाई आउँ जाउँ गर्ने गथ्र्ये भने स्थायी मुल घरमा परिवार रहने प्रचलन थियो । यी प्रचलन बाहेक हाम्रो प्राचिन नेपाली व्यापारीहरुको भोटसँगको व्यापारमा हिमाल वारपार गर्दाका कठिन यात्रा, शिल्क रोड र उपनिवेशकालिन व्यापारीहरुको शाहासिलो यात्रा र कठिन संघर्ष लगाएत आफ्ना देश समृद्ध बनाउने क्रममा विदेसिदाका प्रर्देशिहरुको योगदान, कथा वेथा र भावनाका रोमान्चित ईतिहास र नियात्राहरुलाई काल चिन्तनद्धारा अनुभूत गरि चियाउने हो भने पनि आफु र आफ्नो देशलाई समृद्ध बनाउनु छ भने देश विदेश गएर दुःख सुख गर्नै पर्दो रहेछ । सम्पन्न देशका पूर्खाहरुको इतिहासले यहि सिकाउँछ, यहि देखाउँछ ।
एउटै ठाउँमा बसेर फुर्ति हाकेको भरमा बाँचिने भए विश्वका कयौं आदिवासीहरुको राज्य र उनीहरु किन लोप हुन्थ्ये । मानव जातिका उत्थान र पतनका इतिहासले त्यहि भन्छ । वर्तमानले पनि कि तिमी अरुलाई व्यवस्थापन गर, कि तिमी अरुको व्यवस्थापनलाई स्वीकार्न तयार भएर सिस्टम भित्र समाहित हुने पालो कुरेर बस अरु उपाए नै छैन । यो युग व्यवस्थापन र उपयोगको युग हो । गाउँको मुखिया भएर फुर्ति हाक्ने जमाना गयो । त्यो सपना देख्नेहरु विश्व व्यवस्थापनका सिस्टम भित्र थाहै नपाई माछा ढरियामा पसे झै पसी सक्ने जमाना हो आज ।
हिज पशु र मान्छे फरक हुनु पर्छ भनेर सोचिन्थ्यो भने आज मान्छे र यन्त्रहरु फरक हुनु पर्छ भनेर सोच्ने समय हो ।
धनि देशहरुले डि.भि. र हाई स्किल प्रोगाम अन्तरगत किन विदेशीहरुलाई भित्र्याउछ ? तपाईहरुलाई थाहा छ ? वेलायतले क्यानेडियन नागरिक मार्क कार्निलाई बैंक अफ इङल्याण्डका गभरनर भई दिन क्यानाडै पुगेर फकाएर ल्याए किन ?
केन्याली विद्यार्थी पीताका एउटा नाभो जस्तै अवस्था र स्थितिमा जन्मिएर हुर्किएका अमेरिकी पूर्व राष्ट्रपति ओबामाले भन्नु भएको छ । म अमेरिकामा नजन्मिएको भए, यो अवसर पाउने थिईन । सानो चित्त र संकिर्ण सोचले देश समृद्ध र जनता इज्जतिलो हुन सकिन्न । प्रतिभाशाली व्यक्तित्वहरुलाई लखेटने होईन, स्वागत र प्रोतसाहन गर्ने देशहरु नै धनी र सम्पन्न भएका छन । तर हाम्रो देश नेपालमा प्रजातन्त्र र गणतन्त्र आई सके पछि पनि राणाकालमा राणाका सन्तानहरु जन्मदै जर्नेल हुने, चाकडी गरि दाम चढाउनेहरु नै उच्च पदमा भर्ना गर्ने, योग्य सक्षम निस्पक्ष देश भक्तहरुलाई अपमानित गर्ने प्रचलन अझै पनि यथावत देख्दा हामी नेपालीहरुलाई सति माताको मात्रै होईन, सरस्वती माताको समेत श्राप छ कि के हो भन्ने सोचेर पनि धर्म सम्झी ज्ञानरुपि प्रकाश बालेर अघि बढन हामी सबै मिलेर सत्यको बाटो पहिल्याउनु पर्छ । सबै नेपालीहरुको साझा देशलाई सामन्ती सोच भएकाहरुले होईन, मानवतावादी सोच भएका प्रतिभाशाली व्यक्तित्वहरु जन्माएर जनताले नै प्रत्यक्ष देश सञ्चालन गर्ने संस्कार र परम्पराहरु निर्माण गर्ने तर्फ लाग्नु पर्छ । जनता सार्वभौम नभई देश पनि सार्वभौम हुदैन भन्ने मनमा लिएर बाँच्न सिक्नु पर्छ ।
हरेक मानिस आफ्नो लागी मात्रै सोचेर विदेश जादैन, घर परिवारको सुखको लागी भनेरै विरानो देशमा अनिश्चित भविश्य, आँखा भरी आशु र मुटु भरी माया बोकेर चेतै हराए झै भएर आफ्नो घर परिवारको ईज्जत बचाउन भनेर गएका हुन्छन । आफु जन्मिएको देशमा बसेर आफन्तहरु सँग रमाउन कसलाई इच्छा हुदैन । तर के गर्ने छिमेकीहरुको हेपाई र अपमानित भएर सबै मर्नु भन्दा त म मरे पनि मेरो घर परिवार बचाउँछु भनेर विदेश जानेहरुलाई तिनै छिमेकीको कुरा सुनेर घरमा आउनै नदिने किसिमका नागरिकता ऐनलाई निरन्तरता दिईयो भने नेपालमा अझै पनि जाहानीय राणा शासन नै रहेछ भनेर बुझ्नु पर्छ ।
बृटिसले भारत वर्षका ६ सय भन्दा बढि राज्यहरुलाई आफ्नो अधिनमा ल्याउदा नेपाललाई स्वतन्त्र राज्यकै रुपमा बचाएर राख्ने राणा शासकहरु होइन । गोर्खाली नेपाली जनताहरु हुन । उनिहरुको बहादुरी र देश प्रतिको समर्पनका कारण केहि भूुभाग सहित गोर्खा पल्टन बृटिस मित्रहरुले भारत वर्षमा व्यापार व्यवसाय गर्ने क्रममा सहयोग स्वरुप लिने र नेपाललाई आक्रमण नगर्ने युद्ध मैदानका अलिखित शर्त र समझदारी बारे मैले माथि नै उल्लेख गरि सकेको छु । राणाहरु त की पोजिसनमा बसेर पगरी गुथ्ने भाइमारा अपराधि र अपराधका साँचि मात्रै हुन ।
सुस्ता, कालापानि, लिम्पियाधुरा लगायतका भूमि फिर्ता र कोशी गण्डकी जस्ता राष्ट्रघाती सन्धि खारेजी बारे आवाज उठाउँदा प्रहरीको लाठी खाने म जस्ताहरु आज विदेशमा बसेर आफ्ना घर परिवारको उद्धार गर्न पसिना बगाईरहेका छौं । त्यसको साक्षी त्यस बेलाका हाम्रा आवाज कथा, कविता, गीत र पत्रपत्रिकाहरुमा आक्रोसका आशु भएर बगेका सृजना र समाचारहरुमा अझै पनि हाम्रा रगतका धब्बाहरु आलै पाइन्छ । मेरो छिमेकिले अझै पनि त दरवान, पाले, चौकिदार भनि अपमानित मात्रै गरिरहेको छैन । नाकाबन्दि लगाएर हामीलाई भोक भोकै मार्न समेत खोजेको दुःख र पिडा बिर्सिएर घर रुङ्गने भाईहरुले तीनैका कुरा सुनेर आधुनिक राष्ट्र निर्माणमा हिडेका भाईहरुलाई पराई हुन भनेर दुस्मनलाई साथ दिदा हाम्री आमाको सतित्व र प्राण बचाउन सकिएला ? हामीहरु नै सिक्कम र फिजीका घटनाहरु हामी तिर पनि तेर्सिन सक्छ भनेर कराउने र उग्रराष्ट्रवादका कुरा गर्ने अनि त्यो आवरणमा लेण्डुप दोर्जे भएर विदेशिका ईसारामा काम गर्ने पात्रहरुले घर पोली खाएको उदाहरण विश्वमा थुपै पाइन्छ ।
ईण्डियाका स्वतन्त्रता आन्दोलनमा समेत अतुलनिय योगदान पु¥याएका जननायक बि. पि. कोईराला राजाले फाँसिको सजाय दिने संभावना देख्दा देख्दै पनि राजा र मेरो गर्दन जोडिएको छ भन्दै किन स्वदेश फर्किए ? डा. भुदेव राई जाँड खाएर पागल झै हिडनु पर्ने अवस्था, दिवान सिंह राई र टिमुरबोटे काण्ड, सुखानी हत्या काण्ड, झापा विद्रोहका कारण, जेल बस्ने पात्रहरु र मदन भण्डारीको हत्या, माओवादी आन्दोलन, दरवार हत्याकाण्ड, नेपाली काग्रेस लगायतका राष्ट्रिय पार्टीका वर्तमान नेतृत्व वर्गको निरिह अवस्था र देश अराजकता र गरिबी तर्फ धकेलिदै गईरहेको दृष्यलाई अन्तराष्ट्रिय शक्ति राष्ट्रहरुले विश्वमा सत्ता पलट र व्यापार प्रवर्धन गर्ने रानैतिक खेल भन्दा पनि ठुलो खेल इण्डियन सरकारले खेलिरहेको भान हामीले मात्रै होईन इण्डियाकै कतिपय नेता, बौद्धिक वर्ग र बहुसंख्यक जनताहरुले समेत महसुस गरि मित्रघात गर्नुहुदैन भनेर दबाव दिएकै कारणले मात्रै हामीलाई झम्टी हाल्न सकेको छैन । तर प्रयास हामी भित्रै खेलेर गरिरहेको दृष्य स्पस्ट देखि रहेका छौ । यसको अर्थ हामी डराउनु पर्छ भनेको होईन कि तयारी भएर हाम्रा सम्पूर्ण भूभाग फिर्ता लिई समुन्द्रसम्म जोडिएर शक्ति राष्ट्र बन्ने अवसरको सदुपयोग गर्न सक्नु पर्छ भनिएको हो ।
हामीले हाम्रा सन्ताहरुलाई कारगिलतिर लडन र अरबतिर ऊट चराउन जानको लागी पे्ररित गर्ने हाईन, वेलायत र अमेरिकाका अक्सफोर्ड, हाबर्ड विश्वविद्यालयहरु जस्ता ज्ञान उत्पादन गर्ने भट्टिहरुमा गएर खारिन प्रेरित गर्नुपर्छ ।
विश्वका शक्ति राष्ट्रहरुको राजनैतिक नेतृत्वहरु मात्र होईन, तेस्रो विश्वका महात्मा गान्धि, जवाहारलाल नेहरु, इन्दिरा गान्धि, लिक्वानयू, वेनजिर भुट्टो, चङुटिहवा, नेल्सन मण्डेला, रोवट मुगावे, वी. आर. आम्वेडकर लगायत आधुनिक विश्वका रियल हिरोहरु वेलायत र अमेरिकाका विश्व विद्यालयहरुका उत्पादन हुन ।
के नेपालमै मात्र बसेर ती विश्वविद्यालयहरुबाट विश्व हाक्न सक्ने शिक्षा लिन सकिन्छ ? सकिन्न, किनकी अहिलेकै तालले हो भने घुम्न जाने भिसा पाउन समेत गाह्रो छ भने कसरी पढन जाने ? त्यसैले उनीहरुलाई फर्किएर नआईज भन्ने होईनकी फर्किएर आएर विदेशमा कमाएको पैसाले नेपालमा नै भव्य घर बनाउने, उद्योग व्यापार र परोपकारी काम गरेर सँगै रमाउँदै बसौ । यो सानो पृथ्विलाई आफ्नै गाउँ बनाएर भविष्यका सन्तानहरुका लागि अन्य ग्रहहरु पनि खोजौं भन्नु पर्नेमा नआईज भनेर गाउँघर रितै राख्ने हो भने त्यहाँ अरु नै आएर बस्दैन भन्ने के ग्यारेन्टि ? यी यस्तै संकिर्ण सोच लिएर यी आदीवासी र गाउँघरका घोर्ले भएर उफ्रन खोज्नेहरुको देश मात्रै हाईन, जाति नै डायनासोरको बाटो तिर जाने क्रम जारी छ । जारी रहन्छ ।
महादेव, बुद्ध र गोर्खालीको देश नेपाललाई मात्रै होइन, कुनै पनि देशलाई खतरा विदेश गएर विश्व देखेका बुझेका पौरखीहरुबाट हाईन, एउटै ठाउँ र एउटै जीवन शैलीलाई नै संसार ठानी अन्धो भएर भूई फुटुवा भई आफै मात्रै जान्ने सुन्ने गुणी मानी ठान्ने जंगली चरित्र बोकेका उग्र अहंकारीहरुबाट हुन्छ । जसरी सडिएको काठमा लागेको आगोले सारा जंगल नाश हुन्छ, त्यसरी नै सडिएका विचार बोकेकाहरुले समाजमा डढेलो सल्काउने डर हुन्छ ।
अक्सफोर्ड र हावर्ड भन्नुको अर्थ विश्वका अति नै प्राचिन देखि वर्तमान र भविष्यका चिन्तनका दस्तावेज र रुपरेखा बारे बौद्धिक छलफल गर्ने पूर्वाधार सहितको सुविधा सम्पन्न थलो भन्न खोजिएको हो । समाज बदल्नु भनेको सत्ता परिवर्तन मात्रै होइन, विचार र सोच परिवर्तन गरि समय अनुसार मानव सभ्यता र इतिहासलाई सुरक्षित ढंगले निरन्तर अघि बढाउने कला सृजना गर्दै जानु पनि हो । देश, राष्ट्र, विश्व र मानवियतालाई घर परिवार र असल समाजका सुखद र सुन्दर क्षणको माहोलका रुपमा रुपान्तरण गर्दै जाने गतिशित अभ्यास पनि हो । त्यो माहोल हरेकले हरेक घर परिवारबाटै पनि शुरु गर्न सकिन्छ ।
समय अनुसार हिडन नसक्नेहरुले हेपिदै हेपिदै देश, राष्ट्रियता र जातिय रंग र उमंगहरुका सुन्दर पहिचान र अस्तित्व नै गुमाउने गरेका हजारौ दृश्यहरुकै कारण म, हामी जहाँ सुकै रहे पनि सम्पूर्ण गोर्खाली नेपालीहरुलाई एक भएर विश्व भर नेपाल र नेपाली राष्ट्रियताका आफ्नै पहिचान लिएर ईन्टिग्रेट हुदै गएका विश्व भरका मानव समाजलाई हरेक क्षेत्रमा सिर्जनशिल भै नेतृत्व गर्ने तर्फ सोच्नु होस । नोकरीको नोकर भएर हाईन, नोकरीलाई नोकर बनाएर हाम्रा पुर्खाहरु महादेव, सिद्धार्थ गौतम वुद्ध र गोर्खाली शौर्य, ज्ञान र शाहसलाई आफु भित्र खोज्दै अघि बढनुहोस भन्दै यसको सुरुवात मातृभूमि नेपाल मै बसिरहनु भएका अगुवाहरुले दोहोरो नागरिकताको व्यवस्था गरेर गर्नुहोस भनि यो लेख मार्फत आग्रह गर्न चाहन्छु
म फेरि पनि दोहो¥याएर भन्छु कि, नेपाली भनेको महा मानवहरुको सन्तान हुन, महादेव, बुद्ध र गोर्खाली सारा विश्वका आशा र भरोसाका केन्द्र हुन । उनिहरुको आदर्श बोकेर हिडन साथ नेपाल र नेपाली राष्ट्रिय पहिचान विश्व कै पहिचान बनेर उदाउँछ । यति हो हामिले हाम्रो जिम्मेवारी बुझेर पुरा गर्न योग्य हुने प्रयासलाई संस्कार कै रुपमा ग्रहण गर्ने परम्परा बसाउनु पर्छ ।
त्यसैले आवश्यकता परे संविधान नै संसोधन गरेर भए पनि नेपालको अब बन्ने नागरिकता ऐनमा निम्न व्यावस्थाहरु हुनै पर्छ ।
(१) संसोधित नागरिकता ऐन लागु हुन पुर्व वंशजका आधारमा लिएका नागरिकताका प्रमाण पत्र बहाक स्वयमले स्वोच्छापुर्वक नत्यागे सम्म अन्य मुलुकका नागरिकता लिएको भए पनि यथावत कायम हुनु पर्छ ।
राजनैतिक वा सरकारी उच्च पदमा रहि सेवा गर्नका लागी भने विदेशी नागरिकता त्यागी निश्चित समय नेपाल मै बस्नु पर्ने प्रावधान राख्न सकिन्छ ।
(२) वंशजका आधारमा नेपालमा जन्म दर्ता गरिएका र नेपाली राहादानी वा ट्राभल डकुमेन्ट भएकाहरुलाई पनि वंशजका आधारमा नेपाली नागरिकता लिन पाउने र माथि उल्लेखित शर्त र प्रावधान लागु हुने व्यवस्था हुनुपर्दछ ।
(३) वंशजका आधारमा नागरिकता लिई दोहोरो नागरिकता लिएका नेपाली नागरिकका गैर आवाशिय नेपाली नागरिकहरुका सन्तान दरसन्तानहरुलाई पनि निश्चित सर्त र प्रक्रिया पु¥याई निरन्तर गैर आवाशिय नागरिकता र विदेशी नागरिकता त्यागी नेपालमै बसोबास गर्छु भनेमा नेपालको नागरिकता प्राप्त गर्न सक्ने कानुनी प्रावधान हुनुपर्छ । शर्तहरु कडा राख्न सकिन्छ, तर ढोका नै बन्द गरिनु हुदैन ।
(४) पहिलो र दोस्रो विश्व युद्ध एवं नेपाल सरकारको स्वीकृतिमा विदेशी सैनिक सेवामा काम गर्न जाने गोर्खाली सैनिकहरुका सन्तान दरसन्तानहरुले आफ्ना पूर्खाहरुको आधारमा नेपालसँग जोडिएको विश्वासनीय प्रमाणहरु पेश गरे उनिहरुलाई पनि माथि ३ नं. बुदामा उल्लेख भए अनुसार गैर आवाशिय र आवाशिय नागरिकता प्राप्त गर्न सक्ने प्रवधान राखिनु पर्छ ।
उक्त माथि उल्लेख भए अनुसारको व्यवस्थाहरु भए मात्रै नेपालीहरुले नेपाललाई आफ्नो मुल घर (हेडक्वाटर) बनाई विश्व भरका श्रोत र साधन परिचालन गरि आफ्नो देशलाई विश्व कै शक्तिशाली र विशाल राष्ट्र बनाउने मार्ग समात्न सक्नेछ । विगतका ऐतिहासिक गल्तिहरुलाई सच्याएर नेपालका राष्ट्रियता र सार्वभौमिक पहुँचहरुलाई आफ्नै डिजाईनमा अघि बढाउँदै भोलिका संभावित यूनाईटेड स्टेट अफ अर्थको युगमा पुगेर पनि नेपाली पहिचान र राष्ट्रियताका सुन्दर फुल र रंगहरुलाई विश्व कै एउटा चम्किलो तारा सरिको फुल बनाएर सजाउदै सजाउदै अघि बढन सकिन्छ ।
हाम्रै संकिर्ण सोचकै कारणले त आफ्नै भूमिमा बसिरहेको दार्जलिङ लगायतका भूभागहरुमा नेपाली भाषा संस्कार प्रति अतिक्रमण भई रहेका छन, होईन र ? जन्मनसाथ हिन्दि र स्थानिय भाषाका भारी जबजस्ती बोकाई नेपाली भाषालाई विस्थापित गराई रहेको दृष्यलाई संकिर्ण र उग्रराष्ट्रवादीहरुले कसरी हेरि रहनु भएको छ ? के त्यतिकै अंग्रेजी भाषा अन्तराष्ट्रिय भाषा भएका हुन ? यी सारा दृष्यहरुबाट हामीले सिक्न सक्नु पर्छ ।
आजको युगमा जसले आफ्नो भाषा संस्कार संस्कृति लगायतका आफ्नो राष्ट्रिय पहिचानलाई विश्व भर फैलाएर आफ्नो पनको भावनात्मक सुत्र र माहोलको सृजना र जगेर्ना गर्न सक्छ, त्यहि देशको प्रभाव र शक्ति नजानिदो ढंगले विश्वभर फैलदै फैलदै अघि बढि रहन्छ । अर्थातः समय अनुसार चल्न सकिएन भने थाहै नपाई सारा अस्तित्व गल्र्याम गुर्लूम भएर पुरिएका विगतका कयौ देश र जाति समुदायहरुको नियति हामीले पनि भोग्नै पर्ने स्थिति आउने भएकाले पनि ती त्यस्ता स्थितिलाई रोक्दै, नेपाल र नेपालीहरुको अस्तित्व र पहिचानलाई विश्व मानव सभ्यताका मुलधार र अग्रिम पंक्तिका प्रकाश बनाएर विश्व शान्ति र समृद्धिका लागी योगदान पुराउनको लागी पनि विश्वभरका नेपालीहरुलाई नेपालले एक सुत्रमा बाध्नै पर्छ । झाङ्गिएर फुल्न कोपिला लागेका सुन्दर फुलका जरा काट्ने काम आफ्नै बगैचाँका मालिले गर्ने हाईन, गोड गाड र मल जल गर्नु पर्छ ।
प्राचिन सम्राट महादेव, सिद्धार्थ गौतम बुद्ध र गोर्खालीहरुको देश नेपाल विश्व शान्ति समृद्धि र मानव सभ्यताका एक बलियो र जिम्मेवार सर्जक र रखवाला भएका कारणले पनि त्यो देश नेपालका सन्तानहरुले नेपाली नै भएर विश्व र सारा ब्रमाण्डलाई हेरचाह र रेखदेख गर्ने सोच र योजना नै नेपाल र नेपालीहरुको स्थिर र बलियो राष्ट्रवादी सोच हुने भएकाले पनि नेपालले वर्तमानमा दोहोरो नागरिकता नीति लिएरै अघि बढ्नु पर्छ ।
यो संसारको ज्यालादारी मजदुर भएर होईन, मालिक भएर बाँच्नका लागी सारा संसार चाहारेर यो संसारलाई आफ्नो बनाउनै पर्छ । साईवेरियाका चराहरु त विश्वभर चरेर साईवेरियाका आफ्ना गुडहरुमा फर्किन्छन भने विश्व ईन्टिग्रेसनका दुत बुद्ध र गोर्खालीका सन्तानहरुले आफ्नो घर फर्किनै नपाउने भन्ने कुरा आजको युगमा पनि सोचिन्छ भने त्यो भन्दा ठुलो आत्मघाती सोच के होला ? त्यसैले दोहोरो नागरिकताका सवालमा दास भएर होईन, मालिक भएर सोचौं ।
- उक्त मेरो लेख Nepalipatra.Com मा 13 December 2020 मा प्रकाशित भई 1.8 K शेयर भएको थियो |
